बैशाख १२ ।, जानकी नवमी तथा सीता प्राकट्य दिवसको अवसरमा विराटनगरमा दीपोत्सव कार्यक्रम आयोजना गरिएको छ ।

सो अवसरमा विराटनगर ९ स्थित रामजानकी मन्दिर परिसरमा शनिवार साँझ दिपप्रज्वलनगर्दै दीपोत्सव गरिएको हो । कार्यक्रमको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नुभयो । कार्यक्रमको अवसरमा दिपावलीगर्दै मन्दिर परिसरलाई झकिझकाउ बनाईएको थियो ।

मैथिली भाषा,संस्कृतिको क्षेत्रमा क्रियाशिल मैथिली विकास अभियानको मुख्य आयोजना तथा थप ११ वटा संस्थाको संयुक्त सहकार्यमा सो कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा देवी सीता र भगवान रामको विशेष श्रृंगार तथा पुजा अर्चनाका साथै प्रसाद वितरण सहितका विविध कार्यक्रम समेत गरिएको थियो ।

सो क्रममा बोल्नुहुँदै मन्त्री पराजुलीलले नेपाल भन्ने बित्तिकै माता सीताको देश जनाउने भएकाले जानकी नवमीको अपरिहार्यता महत्वपुर्ण रहेको बताउनुभयो । यद्यपि त्यस अनुसार जानकी नवमीमा देशब्यापीरुपमा बिशेष कार्यक्रमहरु आयोजना नभईरहेको बताउनुभयो । यस्तो अवस्थामा मैथिली विकास अभियानको नेतृत्वमा सामुहिक कार्यक्रम आयोजना हुनु सुखद रहेको उहाँको भनाई थियो । मन्त्री पराजुलीले आयोजक समितिलाई आउँदो बर्षमा थप भब्य कार्यक्रम आयोजनागर्न सुझाव दिनुहुँदै त्यसकालागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा जानकी नवमीको बिषयमा प्रस्ट्याउदै मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरी र श्री रामजानकी मन्दिरका पुजारी पण्डित दिलिप मिश्राले देवी सीताको चरित्र त्याग,समर्पण र आदर्शको प्रतिमुर्ति रहेको बताउनुभयो । उहाँहरुले त्रेतायुगमा मिथिलाको भूमिमा देवी लक्ष्मी राजर्षि जनकको छोरी सीताकोरुपमा प्रकट हुनुभएकोले यो क्षेत्र पवित्र तीर्थस्थलमा परिणत भएको धारणा राख्नुभयो ।

आयोजक मैथिली विकास अभियानका अध्यक्ष नवीन कर्णले सीता प्राकट्य दिवसलाई रामनवमी जत्तिकै महत््वका साथ मनाउनेगरि तयारी गरिएको बताउनुभयो । उहाँले आगामी वर्षदेखी जानकी नवमीको अवसरमा विभिन्न संघसस्थाहरु संग सहकार्य गर्दै विराटनगरमा बृहत् धार्मिक साँस्कृतिक झाँकी निकालिने घोषणा समेत गर्नुभयो ।

कार्यक्रममा स्थानिय माधुरी कर्णले मैथिल संस्कृतिसंग जोडिएको ‘सोहर’ गीत प्रस्तुत गर्नुभयो । मिथिलाका गृहिणीहरुले परिवारमा बालबालिकाको जन्म हुँदा खुशियालीमा बधाई स्वरुप सोहर गीत गाउने प्रचलन छ ।

धार्मिक ग्रन्थहरूका अनुसार, भगवान विष्णुले रामको रूपमा र माता लक्ष्मीले सीताको रूपमा त्रेतायुगमा अवतार लिनुभएको थियो । राजा जनकले हलो जोत्दा धर्तीबाट उहाँको प्राकट्य भएको पौराणिक कथा रहेको छ। सीतालाई नेपाली र दक्षिण एसियाली समाजमा आदर्श नारी चरित्रको एक सर्वोच्च प्रतीकका रूपमा लिइन्छ ।

कार्यक्रममा मैथिली सेवा समिति,मैथिली एशोसिएशन नेपाल,अप्पन ब्राह्मण समाज,देव सेवा समिति,नेपाल धानुक समाज,मैथिली साहित्य अभियान,अप्पन विराटगढ परोपकार समाज,विराट मैथिली नाट्यकला परिषद,डिक्का महासंघ,कर्ण गोष्ठी महिला समुह,चित्रगुप्त समाज कल्याण परिषद र आभा फाउण्डेशन नेपालले सहकार्य गरेका थिए ।

सम्बन्धित खबरहरु