जहदा, मोरङ मोरङको जहदा गाउँपालिका–३ बभनटोलीस्थित सामुदायिक भवनमा आयोजित सात दिने मिथिला चित्रकला प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तेली कल्याण समाज नेपाल अन्तर्गतको तेली साह समाज, जहदाको आयोजना तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा फागुन ८ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको उक्त तालिममा ३१ जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए। लोपोन्मुख बन्दै गएको मिथिला कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तालिममा १० जना अनुभवी प्रशिक्षकहरूले चित्रकलाको इतिहास, सांस्कृतिक महत्त्व र व्यावहारिक चित्रांकन सीपबारे प्रशिक्षण दिएका थिए।
तालिम समापन कार्यक्रम समाजका अध्यक्ष सोहित कुमार साहको अध्यक्षता तथा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले मौलिक कला र संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकार सदैव तत्पर रहने बताउनुभयो। प्रशिक्षक श्रीमती बसुन्धरा झाले तालिममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो।
प्रकृति, धर्म र लोकजीवनलाई रंग र रेखामार्फत व्यक्त गरिने मिथिला चित्रकला पुस्तान्तरण नहुँदा संकटमा पर्दै गएकाले यस्ता तालिमले सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रममा तेली समुदायका विभिन्न विशिष्ट व्यक्तिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
