विराटनगर महानगरपालिका–१२ की सक्रिय, स्पष्टवक्ता र निडर समाजसेवी प्रीति झा आसन्न फागुन २१ को निर्वाचनकालागि मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्य पदका लागि आफ्नो उम्मेदवारीसहित जनताको बीचमा उभिनुभएको छ ।
विराटनगर निवासी उहाँ सार्वभौम नागरिक पार्टीको तर्फबाट संघीय संसदमा पुग्ने अठोटका साथ चुनावी मैदानमा होमिनुभएको हो ।
प्रीति झाको राजनीतिक यात्रा आकस्मिक होइन—यो सामाजिक चेतना, संघर्ष र जिम्मेवारी बोधको परिणाम हो । पछिल्लो समय नवयुवा पुस्ताले उठाएको जेन्जी आन्दोलनले देशमा सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यको मागलाई सशक्त रूपमा अघि सारेको छ । यही आवाजबाट प्रभावित हुँदै, “अब परिवर्तनका लागि बोल्ने मात्र होइन, निर्णय गर्ने ठाउँमा पुग्नुपर्छ” भन्ने अठोटका साथ उहाँ सक्रिय राजनीतिमा होमिनुभएको हो ।
उहाँ अहिले मैथिल ब्राह्मण महिला महासभा मोरङ जिल्ला कार्यसमिति अध्यक्षको जिम्मेवारी सम्हालि रहनुभएको छ । यसअघि अप्पन ब्राम्हण समाज की संस्थापक उपाध्यक्षका रूपमा समुदाय सुदृढीकरण, महिला नेतृत्व विकास र सामाजिक एकताको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ ।
सामाजिक र धार्मिक क्षेत्रसँग पनि उहाँको गहिरो सम्बन्ध छ । विराटनगर १३ स्थित हनुमान मन्दिर सेवा समितिको पूर्व सल्लाहकारका रूपमा उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको सन्देश फैलाउन भूमिका निर्वाह गर्नुभएको छ । साथै मैथिली सेवा समिति की निर्वाचित सचिवका रूपमा मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर क्रियाशील रहनुभएको छ ।
महिला सशक्तीकरण उहाँको पहिचान हो ।
घर–आँगनदेखि सार्वजनिक मञ्चसम्म महिलालाई आत्मनिर्भर, शिक्षित र अधिकारप्रति सचेत बनाउन विभिन्न अभियान सञ्चालन गर्दै आउनुभएको छ । दाइजो प्रथा, छुवाछुत, लैंगिक विभेद, बालविवाह र सामाजिक कुरीतिविरुद्ध उहाँ सधैं अग्रपंक्तिमा उभिनुभएको छ । अन्यायका विरुद्ध आवाज उठाउन नडराउने, हक्की र प्रस्ट बोल्ने उहाँको स्वभावले समाजमा सकारात्मक ऊर्जा दिएको छ ।
प्रीति झाको विश्वास छ—राजनीति अवसरको खेल होइन, उत्तरदायित्वको मार्ग हो । जेन्जी आन्दोलनले उठाएको सुशासन, पारदर्शी प्रशासन, भ्रष्टाचारमुक्त प्रणाली र जनउत्तरदायी नेतृत्वको मागलाई उहाँले आफ्नो एजेन्डा बनाउनु भएको छ । सरकारी सेवा–सुविधामा समान पहुँच, युवालाई रोजगारी, महिलालाई उद्यमशीलताको अवसर, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र स्थानीय भाषा–संस्कृतिको संरक्षण उहाँका प्रमुख प्राथमिकतामा छन् ।
उहाँ भन्नु हुन्छ, “यदि निर्णय गर्ने ठाउँमा इमानदार र प्रतिबद्ध व्यक्ति पुग्दैनन् भने परिवर्तन सम्भव हुँदैन ।” यही सोचका साथ उहाँ मोरङ क्षेत्र नम्बर ६ का जनताको विश्वास जित्न अग्रसर हुनुभएको छ ।

