विराटनगर २९ माघ । मैथिल संस्कृति अनुसार मनाइने चाडपर्वलाई नेपाली पात्रोमा समावेश गर्ने पहल प्रयास शुरु भएको छ ।
छठसहितका केही पर्वहरू क्यालेण्डरमा समावेश रहे पनि अन्य थुप्रै चाडपर्वहरू नेपाली पात्रोमा समावेश नरहेकाले यस प्रकारको पहल शुरु भएको हो । विराटनगरमा क्रियाशील विभिन्न जातीय तथा भाषिक संस्थाहरूले महत्वपूर्ण चाडपर्वलाई क्यालेण्डरमा समावेश गर्न केन्द्र सरकार, प्रदेश सरकार र नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई सुझाव दिने तयारी गरेका छन् ।
मैथिल समुदायले मनाउने झिझिया, सामाचकेवा, बटसावित्री,घडी,चौरचन, हुर्राहुर्री, मधुश्रावणी जस्ता थुप्रै पर्वहरू पात्रोमा समावेश नगरिए पनि समुदायले अत्यन्त महत्वका साथ मनाउने गरेका छन् । त्यसका लागि मैथिली विकास अभियानको अग्रसरतामा फागुन २ गते शनिबार एउटा छलफल डाकिएको छ । विराटनगरको एलिट क्लबमा हुने छलफलमा दुई दर्जन बढी संघसंस्थाका प्रतिनिधिले सहभागिता जनाउने छन् ।
छलफलमा तेली कल्याण समाज नेपालका अध्यक्ष डा. बालकृष्ण साहले विषय प्रवेश गराउनुहुने र त्यसपछि विभिन्न जातीय समुदायका महत्वपूर्ण पर्वहरूको सूची संकलन गर्ने कार्यक्रम छ । धार्मिक तथा सांस्कृतिक चाडपर्वको संरक्षणका निम्ति पनि मैथिली सहित विभिन्न संस्कृतिका चाडपर्वहरू नेपाली पात्रोमा समावेश गर्नुपर्ने आवश्यकता रहेको मैथिली विकास अभियानका अध्यक्ष नवीन कर्णले बताउनुभयो ।
सरकारको सांस्कृतिक तथ्यांकमा सूचीकृत नभएकाले कतिपय पर्वहरू लोप हुने अवस्थामा पुगेकाले पनि समुदायका चाडपर्वहरू अविलम्ब पात्रोमा सूचीकृत गरेर संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।
सामूहिक छलफलबाट छनौट गरिने पर्वहरूलाई पात्रोमा समावेश गराउन माग गर्दै संघीय सरकारका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी र कोशी प्रदेशका मुख्यमन्त्रीलाई सो विषयको ज्ञापनपत्र बुझाइने कर्णले जानकारी दिनुभयो ।

