कटहरी २९ पौष । मोरङको कटहरी गाउँपालिकाले स्थानीय युवायुवतीहरूलाई लक्षितगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा भर्ना हुन सहयोग पु-याउने उद्देश्यले लोकसेवा आयोग तयारी कक्षा तालिम सुरु गरेको छ ।
कटहरी–६ केशोरियास्थित सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालित ३५ दिने तालिमको कटहरीका अध्यक्ष देवराज चौधरीले उद्घाटन गर्नुभयो । तालिममा वडा नम्बर ६ र ७ मा पर्ने थलहा र भौंडाहाका ३५ जना युवायुवतीको सहभागिता रहेको छ । तालिमको उद्घाटनगर्दै अध्यक्ष चौधरीले गाउँपालिकाले युवाहरूलाई रोजगारी र स्वरोजगारीसँग जोड्न निरन्तर काम गरिरहेको बताउनुभयो ।
उहाँले विगतका वर्षहरूमा सञ्चालित यस्तै तालिमहरूबाट दर्जनौँ स्थानीय युवाहरू सुरक्षा निकायका विभिन्न तहमा रोजगारी पाउन सफल भएको स्मरण गर्दै यसपटक पनि सहभागीहरूले कडा मिहिनेत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिमको प्राविधिक व्यवस्थापन मेची पोलिटेक्निकल इन्सिच्युट प्रालि, दमकले गरिरहेको छ । इन्सिच्युटका प्रबन्ध निर्देशक रामराज पुरीले विशेषगरी सीमान्तकृत जातीय समुदायका युवायुवतीलाई सुरक्षा निकायमा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले तालिम केन्द्रित गरिएको जानकारी दिनुभयो । यस्तै, संस्थाका प्रबन्धक दिपेन्द्र कुमार मण्डलले विभिन्न स्थानीय निकायहरूसँग समन्वयगरी युवाहरूलाई दक्ष बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
तालिम अवधिभर सहभागीहरूलाई सशस्त्र प्रहरी र नेपाली सेनाका जवान तथा अधिकृतहरूले शारीरिक तन्दुरुस्ती (फिजिकल) सम्बन्धी प्रशिक्षण दिनेछन् भने सरकारी कर्मचारीहरूले लोकसेवा आयोगको लिखित परीक्षाका लागि आवश्यक पाठ्यक्रम र प्रक्रियाबारे जानकारी गराउने जनाईएको छ ।
कार्यक्रममा कटहरी–६ का वडाध्यक्ष बिसो सरदार लगायत स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । तालिमले विपन्न र पछि परेका समुदायका युवाहरूलाई सरकारी सेवामा पहुँच पु-याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
तालिमकालागि गाउँपालिकाले ५ लाख बजेट बिनियोजन गरेको जनाईएको छ ।
