कटहरी २६ पौष । राजवंशी समाज विकास समिति कटहरीले भक्का पिठ उत्सव आयोजना गरेको छ ।

समितिको कटहरी गाउँ कार्यसमितिले आफ्नै भवन परिसर, कटहरी ३ मा उत्सव आयोजना गरेको हो । उत्सवको कोशी प्रदेशका प्ुर्व भौतिक पुर्वाधार राज्यमन्त्री भुमि राजवंशीले उद्घाटन गर्नुभयो । उत्सवको अवसरमा राजवंशी सांस्कृतिक नृत्य,गीत तथा पहिरणका साथै समुदायको पारम्परिक परिकार भक्का र पिठ प्रर्दशन गरिएको छ ।

समुदायका महिलाहरुले कार्यक्रमस्थलमा भक्का र पिठ बनाउने मौलिक तरिका प्रर्दशन गरेका थिए भने आगन्तुक अतिथिलाई भक्का,पिठ,आलुचप र माछाको परिकार चखाईएको स्थानिय शोभराज राजवंशीले जानकारी दिनुभयो । कार्यक्रमकाबिच गायक राम राजवंशी र गायिका रिता राजवंशीले समुदायको सांस्कृतिक गीत प्रस्तुत गर्नुभयो भने नृत्य निर्देशक मनोज राजवंशीको समुहले मौलिक राजवंशी नृत्य प्रस्तुत गरेको थियो ।

भक्का र पिठ राजवंशी समुदायको मौलिक खाद्य परिकार रहेकाले त्यसको संरक्षण र प्रर्बधन गर्नुका साथै यि परिकारहरुलाई पेटेन्ट गराउने उद्धेश्य सहित उत्सव आयोजना गरिएको राजवंशी समाज विकास समितिका पुर्व अध्यक्ष भिमराज राजवंशीले बताउनुभयो ।

सो अवसरमा समुदायको सांस्कृतिक संरक्षणमा योगदान दिएको भन्दै गुरु गोंसाई र किर्तनियाहरुलाई सम्मान गरिएको थियो । सो क्रममा विराटनगर १९ का नमोनारायण राजवंशी,कटहरी ४ का जितबहादुर राजवंशी,जहदा ३ का फत्ते राजवंशी,सोहि ठाउँका जंगबहादुर राजवंशी र कटहरी ३ का हरिचरण राजवंशीलाई सम्मान गरिएको थियो ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहित केन्द्रीय अध्यक्ष सुमन्त राजवंशी,पुर्व अध्यक्ष भिमराज राजवंशी र गाउँ कमिटि अध्यक्ष उमेश राजवंशीले सम्मानपत्र र दोसल्ला सहित सम्मान गर्नुभयो । कार्यक्रममा सहभागिता जनाउन झापा,मोरङ र सुनसरीका विभिन्न पालिकाबाट राजवंशी समुदाय आएका थिए ।

सम्बन्धित खबरहरु