कटहरी गाउँपालिकाका ५० जना सुत्केरी महिलालाई फाइबरको सिरक वितरण गरिएको छ ।

सो गाउँपालिकाको वडा नम्बर १ कार्यालयले वडाभित्रका सुत्केरी महिलाहरूलाई सिरक वितरण गरेको हो । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमका बीच वडाका विभिन्न टोलमा बस्ने सुत्केरीहरूलाई सिरक वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी र वडाध्यक्ष हरिनारायण राजवंशीले सुत्केरी महिला र तिनका प्रतिनिधिहरूलाई सिरक हस्तान्तरण गर्नुभयो । सुत्केरी महिलाहरूलाई सेवा सुविधा दिने विभिन्न प्रकारका कार्यक्रम अन्तर्गत सिरक वितरण गरिएको वडाध्यक्ष राजवंशीले बताउनुभयो ।

उहाँले सिरक वितरणका निम्ति वडाले चालु आर्थिक वर्षमा ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी समेत दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष चौधरीले सुत्केरी महिलाहरूका लागि सबै प्रकारको स्वास्थ्य जाँच निःशुल्क गर्नुका साथै डेलिभरी भएपछि गाउँपालिका तथा वडामार्फत ७ हजार ८ सय रुपैयाँ भत्ता समेत उपलब्ध गराउने गरेको बताउनुभयो ।

उहाँले स्वास्थ्यको मापदण्ड अनुसार नियमित चेकजाँच र खोप लिएका सुत्केरी महिलाहरूलाई पोषण भत्ता र जन्मदर्ता लगायतको शीर्षकमा भत्ता दिने गरिएको बताउनुभयो ।

गाउँपालिका तथा वडाहरूले सुत्केरी महिलाहरूलाई निःशुल्क चेकजाँचका साथै भत्ता समेत उपलब्ध गराउन थालेपछि स्थानीय स्वास्थ्य केन्द्रहरूमा सुत्केरी महिलाहरूको उपस्थिति बाक्लिँदै गएको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु