मोरङ सहकारी अस्पताल, विराटनगरमा हालै एक अत्यन्त जटिल तथा दुर्लभ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
पेट र तल्लो पेट (पेल्भिक) को भाग पुरै भरिने गरी विकसित भएको अत्यधिक ठूलो, बहु-खण्डित (मल्टिलोकुलेटेड) अण्डाशयको गिर्खा (ओभरियन सिस्ट) बाट पीडित ४० वर्षीया महिलाको शल्यक्रिया प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले सफलतापूर्वक गर्नुभएको हो।
कम्प्युटराइज्ड टोमोग्राफी (सि.टी. स्क्यान) परीक्षणमा करिब ३० × २७ × २३ से.मी. आकारको जटिल अण्डाशयको गिर्खा देखिएको उक्त बिरामीमा पेट चिरेर गरिने शल्यक्रिया (ल्यापरोटोमी विथ सिस्टेक्टोमी) तथा बायाँ तर्फको अण्डाशय र डिम्बवाहिनी नली निकाल्ने (लेफ्ट साल्पिङ्गो-ओफोरेक्टोमी) शल्यक्रिया गरिएको थियो।
शल्यक्रियाका क्रममा गिर्खाका विभिन्न खण्डहरूबाट करिब १० लिटरभन्दा बढी तरल पदार्थ निकालिएको थियो। तीमध्ये एउटा भागबाट चकलेट रङ्गको तरल पदार्थ र अर्को भागबाट सफा पानी जस्तो (सेरस) तरल पदार्थ निकालिएपछि मात्र गिर्खालाई सुरक्षित रूपमा शरीरबाट हटाउन सम्भव भएको थियो। करिब ४५ मिनेटमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो।
शल्यक्रियापछि बिरामीको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तो ठूलो र जटिल गिर्खा समयमै पहिचान र उपचार नभएमा मिर्गौला, आन्द्रा तथा अन्य आन्तरिक अंगमा दबाब पर्न सक्ने भएकाले समयमै शल्यक्रिया गर्नु अत्यन्त आवश्यक हुने चिकित्सकहरू बताउँछन्।
उक्त सफल शल्यक्रियामा बेहोस पार्ने चिकित्सक (एनेस्थेटिसया) डा. दिवस राजभण्डारीको समूह, शल्यकक्षमा सघाउने (स्क्रब) भूमिकामा रहेका अजय ताजपुरिया र नन्दा बुढा, शल्यक्रिया कक्ष सहयोगी सञ्जु राजवंशी र निरज, साथै मोरङ सहकारी अस्पतालको शल्यकक्ष, शल्यक्रिया पश्चातको कक्ष (पोस्ट-अप युनिट) तथा सम्पूर्ण अस्पताल परिवारको उल्लेखनीय योगदान रहेको छ।
डा. साहले शल्यक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण टिमप्रति धन्यवाद व्यक्त गर्दै, मोरङ सहकारी अस्पतालमा यस्ता जटिल शल्यक्रिया सुरक्षित रूपमा गर्न सकिने क्षमता र सुविधा रहेको बताउनुभएको छ।