कटहरी २६ पौष । कटहरी खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता समितिले आफ्नो ५ औं वार्षिक साधारण सभा मनाएको छ ।
कटहरी गाउँपालिका ३ स्थित आयोजनाले विविध कार्यक्रमगरि वार्षिकोत्सव मनाएको हो । कटहरीका अध्यक्ष देवराज चौधरीले सो संस्थाको वार्षिकोत्सवको समुद्घाटन गर्नुभयो । स्थानीय एक पार्कमा आयोजना गरिएको वार्षिकोत्सवका बिच संस्थाको वार्षिक आयब्यय र निति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै कर्मचारी र आयोजनाको श्रीबृद्धिमा योगदान पु-याएकाहरुलाई सम्मान समेत गरिएको छ ।
सो अवसरमा खानेपानी आयोजनाको विकासमा महत्वपुर्ण योगदान पु-याएको योगदानको कदरगर्दै गाउँपालिका अध्यक्ष चौधरीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो । चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुअघि लामो समयसम्म आयोजनाको नेतृत्वमा बसेर योगदान दिनुभएको आयोजनाका ब्यवस्थापक किरण राजवंशीले जानकारी दिनुभयो ।

सोहि अवसरमा आयोजनाका प्राबिधिक कर्मचारी मुकेश कामत र कटहरी ३ का वडाध्यक्ष जदुलाल कामतलाई समेत सम्मान गरिएको थियो । उहाँहरु सबैजनालाई कटहरी खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विद्यानन्द चौधरी लगायतले सम्मान गर्नुभयो । सो अवसरमा आयोजनाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आयोजनाका अध्यक्ष विद्यानन्द चौधरीले आयोजनाले स्थापना कालदेखी नै उपभोक्ताप्रति उत्तरदायि भई गुणस्तरिय पानी वितरण गर्दै आएको बताउनुभयो ।

कार्यक्रमकाबिच संस्थाका कोषाध्यक्ष धर्मलाल सिंह र ब्यवस्थापक किरण राजवंशीले आर्थिक प्रतिवेदन तथा आब २०८२-८३ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । आयोजनाले विक्रमसम्बत २०६९ साल असोज १ गते देखि कटहरीका विभिन्न वडाहरुमा धारमार्फत गुणस्तरिय खानेपानी वितरण गर्दै आएको छ । आयोजनाले हाल कटहरीका ७ वटा वडामध्ये वडानम्बर १,२,३ र ४ नम्बर वडाका १६ सय बढी उपभोक्ताको घरमा धारा जडानगरि पानी वितरण गर्दै आएको छ ।

कटहरी ३ को जिरात टोलमा आयोजनाले निर्माण गरेको २ लाख २५ हजार लिटरको पानी टंकीबाट धाराको पानी वितरण गर्दै आएको छ ।
