कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले नेपाललाई बौद्ध र किराँत परम्परासहितको वैदिक सनातन राष्ट्रका रूपमा विकसित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
उहाँका अनुसार मुलुक धर्ममय बने शान्ति छाउने र राष्ट्र उन्नति तथा प्रगतिको मार्गमा अघि बढ्नेछ । छैठ महापर्वको अवसरमा ‘दण्ड प्रणाम’ साधना प्रारम्भ गर्नुअघि विराटनगरका सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पछिल्लो समय विश्वभर बढ्दो अशान्ति र द्वन्द्वले विश्वयुद्धको खतरा निम्त्याएको र नेपालमा समेत द्वन्द्वको वातावरण देखिन थालेको बताउनुभयो ।
“नेपाल प्राचीन ऋषिमुनिहरुको तपोभूमि हो । यहाँ भगवान पशुपतिनाथ, बराहक्षेत्रजस्ता अनेक पवित्र तीर्थस्थलहरू छन्, त्यसैले नेपाललाई बौद्ध र किराँत संस्कृति समेटिएको वैदिक सनातन राष्ट्र बनाउनुपर्छ,” पराजुलीले बताउनुभयो ।
प्रदेश सभासदस्य पराजुलीले छैठ महापर्वको अवसरमा बिगत २८ वर्षदेखि निरन्तर ‘दण्ड प्रणाम’ साधना गर्दै आउनुभएको छ । उहाँले सोमबार बिहान साढे १० बजे विराटनगरको ठुलो मिलचोकबाट दण्ड प्रणाम सुरु गर्नुभयो र करिब साढे पाँच घण्टा सूर्यलाई नमस्कार गर्दै परोपकारघाट नजिकै सिंघीया खोलाको आफ्नै छैठ पुजास्थलसम्म पुग्नुभयो ।
धार्मिक आस्थामा गहिरो विश्वास राख्ने पराजुली राजनितिमा प्रवेश गर्नु अघि नै ३१ वर्षदेखि छैठ माताको पूजा र साधनामा समर्पित रहँदै आउनुभएको छ । उहाँका भतिज प्रमित पराजुलीले यस वर्ष १०औँ पटक दण्ड प्रणाम साधना पूरा गरेका छन् ।