मोरङको बुढीगंगा, विराटनगर, कटहरी र जहदा गाउँपालिकाको जीवनरेखा मानिने सिंघिया खोलामा पुनः बिष हालिएको छ । खोलामा बिष मिसाइएपछि हजारौं माछा र अन्य जलचर मरेका छन् ।
बारम्बार खोलामा बिष हालिए पनि प्रहरी र प्रशासन मौन रहेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
स्थानीयका अनुसार कात्तिक १ गते बिहानैदेखि माछा र गंगटा पानीको सतहमाथि तैरिन थालेका थिए । माछा बेहोसी भएर माथि तैरिन थालेपछि आसपासका बासिन्दा खोलामा जम्मा भई माछा संकलनमा जुटे । विराटनगर–१ का महेन्द्र सहनी भन्छन्, “म बिहान चिया खान खोलातिर गएको थिएँ, त्यतिखेर माछा तैरिरहेको देखेँ र ३ केजीको बोआरी माछा समातेँ।”
गत वर्ष पनि मंसिर ९ र १५ गते गरी दुई पटक यही खोलामा बिष हालिएको थियो । त्यसबेला समेत माछा, गंगटा, भ्यागुता, सर्प लगायतका जलचर सामूहिक रूपमा मरेका थिए । वातावरणविद्हरूका अनुसार, खोलामा बिष मिसाउँदा माछा मात्र होइन, पानीमा बस्ने अन्य सूक्ष्मजीव र जैविक प्रणालीसमेत नष्ट हुने गर्छ, जसले जैविक विविधतामा गम्भीर असर पार्छ ।
विराटनगर–२ का मदन मंग्राती भन्छन्, “प्रहरी र प्रशासनले घटनालाई गम्भीरतापूर्वक नलिएपछि यस्तो आपराधिक काम दोहोरिँदै आएको छ । खोलाको प्रदूषित पानीले गाई, भैँसी र चराचुरुङ्गी पनि प्रभावित भएका छन्।”
त्यसैगरी, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले घटनाको कारणबारे अनुसन्धान आवश्यक रहेको बताए । उहाँका अनुसार, “खोलाको सिरानतिरैबाट कसैले बिष हालेको वा औद्योगिक प्रदूषण मिसिएको हुनसक्छ । दोषी पत्ता लगाई कारबाही गर्नु र पालिकाहरूले पनि सक्रिय भूमिका खेल्नु जरुरी छ।”