नेपालको जेलबाट फरार दुईजना कैदीबन्दी भारतमा चोरीको मोटरसाइकल सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिकाका २९ बर्षीय पिन्टूकुमार यादव र कप्तानगञ्ज गाउँपालिकाको वडानम्बर ४ का २८ बर्षीय उमेशकुमार मेहता रहेका छन । उनिहरुलाई भारतको जोगबनी बजार नजिकैको बथनाहाबाट भारतीय प्रहरीले पक्राउ गरेको हो ।
चोरीको मोटरसाईकल स्थानीय बजारमा विक्रीगर्न खोजिरहेको सूचना पाएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको जनाईएको छ । पक्राउ गरिएका यादव र मेहता तिन जनाको समुह बनाएर तिनवटा चोरीको मोटरसाईकल सहित त्यहाँ पुगेका थिए ।
समुहमा रहेका देवानगञ्ज,सिनवारीका अनिल यादव भने घटनास्थलबाट भाग्न सफल भएका थिए । प्रहरीले अभियुक्तहरुको साथबाट तिनवटा मोटरसाईल समेत बरामद गरेको छ । बरामद भएको मोटरसाईकलमा नम्बर नखुलेको रातो रंगको अपाची मोटरसाईकल एकथान,कालो रंगको होण्डा एकथान र कालै रंगको पल्सर एकथान रहेको समाचार श्रोतले जनाएको छ ।
पक्राउ गरिएका अभियुक्तहरुले अपाची मोटरसाईकल भारतको बिरपुरबाट चोरी गरेको अन्य दुई मोटरसाईकल नेपालबाट चोरी गरेको बयान दिएका छन । उनिहरुले पल्सर मोटरसाईकल भने भद्रपुरबाट चोरी गरेको प्रहरीलाई बताएका छन । पक्राउ गरिएका दुवै अभियुक्त जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएका कैदीबन्दी रहेको समाचार श्रोतले जनाएको छ ।
पक्राउ गरिएका दुवै अभियुक्त झुम्का कारगारबाट फरार कैदी रहेको जनाईएको छ ।