मिथिलाञ्चल आफ्नो लोकसंस्कार, पर्व–त्योहार र सामाजिक परम्पराका लागि सम्पूर्ण भारतीय उपमहाद्वीपमा विशिष्ट स्थान राख्दछ।

यी संस्कारहरू मध्ये कोजाग्रत यस्तो पर्व हो, जसले नवविवाहित वरको मान–सम्मान, वधूपक्षको दायित्व र समस्त समाजको सहभागितासँगै एक अनुपम लोक–आध्यात्मिक उत्सवको रूपमा मनाइन्छ।

हिन्दू पंचाङ अनुसार आश्विन महिनाको शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमाको राति जब चन्द्रमा आफ्नो सम्पूर्ण सौन्दर्यमा उदित हुन्छ—उही शुभ सन्ध्यामा मिथिलाका कुना–कुनामा कोजाग्रतको उल्लास फैलिन्छ। यो रातको विशेषता केवल खगोलीय वा धार्मिकतासम्म सीमित छैन, बरु यो पर्व सांस्कृतिक, सामाजिक र पारिवारिक जीवनलाई गहिरो स्तरमा जोड्ने आधार बनेको छ।

यो पर्वको नाम संस्कृत शब्द “को जागर्ति?” अर्थात् “को जागेको छ?” मा आधारित छ। मान्यताअनुसार आश्विन शुक्ल पूर्णिमाको रात्रीमा माता लक्ष्मी पृथ्वीमा विचरण गर्छिन् र उनी त्यहीँ गृहमा प्रवेश गर्छिन्, जहाँ मानिसहरू जागा रहन्छन्। सफाइ, श्रद्धा र भक्तिसहित देवीको स्वागत गरिन्छ।

शरद पूर्णिमा अर्थात् कोजाग्रत केवल एक धार्मिक पर्व मात्र नभई प्राकृतिक र खगोलीय नियमअनुसार एक वैज्ञानिक पर्व पनि हो। यस रातिको चन्द्रमा केवल अनुपम सुन्दर मात्र हुँदैन, बरु त्यसको उपचारात्मक गुण अनुभव गर्ने अवसर पनि दिन्छ। यसको परम्परामा लुकेका ज्ञान र अनुभव वैज्ञानिक सोचसँग जोडिन्छन्, जसले आफ्ना परम्परालाई वैज्ञानिक आधारमा हेर्ने अवसर दिन्छ। शरद पूर्णिमाको राति चन्द्रमा पृथ्वी नजिकै हुन्छ।

चन्द्रमा आफ्नो पूर्ण रूपमै उज्यालो देखिनुका कारण यो रात “Supermoon” जस्तै लाग्छ। शरद ऋतुमा वर्षा समाप्त भइसकेको हुन्छ, आकाश धेरै सफा हुन्छ। यस समयमा तारामण्डल, चन्द्रमा र अन्य खगोलीय पिण्डहरू स्पष्ट देख्न सकिन्छ। दिन छोटिंदै जान्छन् र रात लामो—चन्द्रमा लामो समयसम्म आकाशमा रहन्छ। तापक्रम घट्न थाल्छ, जसले चन्द्रप्रकाशलाई चिसो प्रभावसहित अनुभूत गराउँछ।

वैज्ञानिक दृष्टिले चन्द्रमाको प्रकाशमा अल्ट्राभायोलेट (UV) किरण हुन्छ। आयुर्वेद अनुसार यस किरणले शरीरमा शीतलता, रोग नाशक शक्ति र मानसिक शान्ति दिन्छ। परम्पराअनुसार शरद पूर्णिमाको रात खीर पकाएर खुला आकाशमुनि चन्द्रमा प्रकाशमा राखिन्छ। वैज्ञानिक दृष्टिले चन्द्रकिरणले दूधमा भएको लैक्टोजमा हल्का असर गर्छ, जसले गर्दा खीर सुपाच्य हुन्छ। साथै दूधमा भएको भिटामिन D मा चन्द्रकिरणको UV सक्रियता बढाउँछ।
पूर्ण चन्द्रको मानसिक अवस्थामाथि आंशिक प्रभाव हुन्छ— निद्रा, मुड र एकाग्रतामा। यो रात ध्यान, योग र शान्तिका लागि उत्तम मानिन्छ।

कोजाग्रतको धार्मिक स्वरूप अत्यन्त समृद्ध छ। यस राति माता लक्ष्मीको विशेष पूजन गरिन्छ। जनविश्वास अनुसार यो राति धन–धान्य र समृद्धिको आराधनाका लागि सर्वोत्तम मानिन्छ। पूजामा सिन्दूर, चन्दन, दूबो, अक्षत, पुष्प, दीप, नैवेद्य र विशेषगरी मखाना अर्पण महत्वपूर्ण मानिन्छ। लक्ष्मीजीको पूजा अघि भगवान् विष्णुको आह्वान पनि गरिन्छ, किनकि लक्ष्मीजी उहाँकी संगिनीरूपमा पूज्य मानिन्छिन्। दीपको टिमटिमाहट र धूपको सुगन्धले वातावरणमा आध्यात्मिक चेतना फैलिन्छ। परिवारका सबै सदस्य एकैसाथ बसेर लक्ष्मीपूजन गर्छन्—मन्त्र उच्चारणले वातावरण पवित्र हुन्छ।

यो राति जागरणको विशेष महत्व छ। लोकविश्वास छ—रातभर जागेर जो माता लक्ष्मीको स्तुति गर्छ, उनको घर धन–सम्पत्तिले भरिन्छ। शरदचन्द्रको किरणमा स्नान गरिएका खीर, मखाना र फल–नैवेद्य ग्रहण गर्नु विशेष फलदायी मानिन्छ। बच्चा, वृद्ध, युवा—सबैले एकैसाथ पूजा गर्छन् र प्रसाद ग्रहण गर्छन्।

मिथिलामा यो पर्वले एक विशेष स्वरूप ग्रहण गरेको छ, विशेषगरी विवाहपश्चात पहिलो कोजाग्रतमा वरको ससुरालीबाट भार अर्थात् स्नेहपूर्ण भेंट पठाइन्छ। यस भारमा पान, मखाना, मिठाई, फलफूल, वस्त्र आदि समावेश हुन्छन्। पान, मखाना र मिठाई समाजमा उल्लासपूर्वक बाँडेर दाम्पत्य जीवनको सुरुवात गरिन्छ।

यो पर्वसँग एक विशेष आत्मीयता जोडिएको हुन्छ। नवविवाहित वरको ससुरालीबाट आएको उपहार केवल भौतिक वस्तु मात्र हुँदैन, बरु त्यो “स्नेह–सन्देश” हुन्छ, जसमा प्रत्येक वस्तुमा अपनत्व, आशीर्वाद र सम्बन्धको मिठास भरिएको हुन्छ। यस उपहारमा ससुराली पक्षका भावनाहरू समाहित हुन्छन्।

गाउँघरमा यो दिन विशेष महत्व राख्छ। महिलाहरू बिहानैदेखि तयार हुन्छन्—घरको आँगन सफा गरिन्छ, गोबरले लिपेर रंग–बिरंग फूलपातसहित अरिपन बनाइन्छ। पीठो र सिन्दूरले सजाइएको आँगन त्यो दिव्य भावनाको अभिव्यक्ति हो, जुन मिथिला संस्कृतिको मूल आधार हो।

यो रातको अर्को अद्भुत पक्ष हो—लोकगीत र परम्परागत गीति–संवाद। यी गीत मनोरञ्जन मात्र होइनन्, बरु सांस्कृतिक चेतना जगाउँछन्। यस संवादमा सन्देश हुन्छ—लक्ष्मी त केवल त्यहीँ घरमा आउँछिन् जहाँ मानिसहरू जागा रहन्छन्। यसको गहिरो अर्थ हो—जसको मन जागेको छ, जसको चेत सजग छ, जसको आत्मा शुद्ध छ—त्यही घरमा देवीको वास हुन्छ। मैथिल समाजमा कोजाग्रत विशेषगरी महिलाहरूको सृजनशीलता, धार्मिकता र पारिवारिक जिम्मेवारीको प्रतीक बनेको छ।

यो पर्वोत्सव सामाजिक पुनर्मिलनझैं हुन्छ, जसलाई नवविवाहित वर–वधूको सामाजिक मान्यताको सूचकको रूपमा पनि लिइन्छ। वरको चुमाओन—जो परम्परागत सम्मान समारोह हो—नयाँ सम्बन्धलाई सार्वजनिक स्वीकार्यता दिन्छ।

गुरुजनहरूले वरलाई दूबो–अक्षतसहित आशीर्वाद दिन्छन्। सम्पूर्ण गाउँमा हकार पर्छ—अर्थात् शुभ समाचारको सूचना। हकार सामाजिक आमन्त्रण हो, जसमा भोजन र प्रसाद वितरणसहित सम्पूर्ण समाजलाई सहभागी बनाइन्छ। यसरी गाउँको सुदृढ सामाजिक संरचना, सहभागिता र समरसताको उदाहरण प्रस्तुत हुन्छ।

कोजाग्रतमा भार पठाउने परम्परा आर्थिक अभिव्यक्ति पनि हो। यस माध्यमले वधूपक्षले आफ्नो दायित्व निर्वाह गर्छ, साथै वरको सम्मान उद्घोष गर्छ। यसरी पारिवारिक सम्बन्धमा पारदर्शिता, अपनत्व र उत्तरदायित्वको भावना विकसित हुन्छ।

मनोवैज्ञानिक दृष्टिले नवविवाहित वर–वधूका लागि यो अवसर नयाँ सामाजिक पहिचान स्थापित गर्ने हुन्छ। विवाहपश्चात जीवनको आरम्भिक चरणमा कोजाग्रतजस्तो संस्कारले नयाँ दम्पतीलाई गहिरो मानसिक बल दिन्छ।

आधुनिक युगमा जब जीवन प्रविधि र भागदौडले भरिएको छ, त्यस्तो अवस्थामा कोजाग्रतजस्ता लोकपर्वहरूले सामाजिक सन्तुलन र आत्मीयतालाई पुनर्स्थापित गर्ने सशक्त माध्यम बनेका छन्। यद्यपि कतिपय स्थानमा यस पर्वमा देखावटीपन र प्रतिस्पर्धाको प्रवृत्ति देखिन्छ, तथापि मूल भावना—भक्ति, सम्मान, समर्पण र आत्मीयताले यसलाई जीवन्त बनाएको छ। मिथिलाका नयाँ पुस्ताका लागि यो पर्व आफ्ना जरालाई सम्झने अवसर बनेको छ।

कोजाग्रत केवल तिथि विशेषमा मनाइने पर्व मात्र नभई मिथिलाको सांस्कृतिक चेतना, धार्मिक श्रद्धा, पारिवारिक भावना र सामाजिक उत्तरदायित्वको प्रत्यक्ष स्वरूप हो। यो पर्व मिथिलावासीका लागि त्यो स्तम्भ हो, जसमा आफ्नो गौरवशाली इतिहास, संस्कार र संवेदनशील समाज टिकेको छ।

कोजाग्रतको उत्साह केवल चन्द्रप्रभाको प्रकाश मात्र नभई मिथिलाको लोक–मन, लोक–भाषा र लोक–धर्मको उज्यालो हो, जसले अनादिकालदेखि परम्परालाई सिँगार्दै आएको छ।

सम्बन्धित खबरहरु