नवरात्रमा देवी भगवतीलाई खुशी बनाउन भक्तजनले विभिन्न प्रकारका उपासना, अनुष्ठान तथा साधना गर्ने गर्छन । सोहि क्रममा यसपल्टको नवरात्रमा मोरङका दुई महिलाले छात्तीमा कलश राखेर कठोर साधनामा होमिएका छन ।
मोरङको जहदा गाउँपालिका ५ की ३३ बर्षीय शकुन्तला मण्डल र वडानम्बर २ की ३६ बर्षीय पवित्रादेवी ऋषिदेव यतिखेर कठोर उपासना गरिरहनु भएको छ । उहाँहरुले आफ्नो छात्तीमा कलश राखी कठोर साधना गरिरहनु भएको छ । उहाँहरुले जहदा गाउँपालिकाको वडानम्बर ५ मा रहेको दुर्गा मन्दिर परिसरमा आफ्नो अनुष्ठानलाई निरन्तरता दिईरहनु भएको छ ।
असोज ६ गते घटस्थापनाको दिनबाट उहाँहरुको अनुष्ठान शुरु भएको हो । अनुष्ठानको क्रममा उहाँहरु मन्दिर परिसरमा शयन मुद्रामा आफ्नो छात्तीमा कलश राख्नु भएको छ । सोहि कलशभित्र बालुवाराखि जमरा उमार्ने अन्न छरिएको छ भने छेउमैं बालुवा राखेर समेत जमरा छरिएको छ ।
उहाँहरुले साधना शुरु गरेयता अन्न तथा जल पुणरुपले त्याग गर्नुभएको छ । मण्डल र ऋषिदेवको साधना बिजयादशमीको बिहानसम्म जारी रहने जनाईएको छ । साधक मण्डलले कठिन साधनागरि जमरा उमार्ने सोंच आफुलाई छ महिना अघि नै आएको बताउनुभयो । उहाँले नवरात्रीमा निराहार ब्रत बस्ने उद्धेश्यसहित २० दिन अघिबाट नै नियमनिष्ठा शुरु गरेको र घटस्थापनायता अन्नजल त्याग गरेको बताउनुभयो ।
अर्का साधक ऋषिदेवले आफुले भाकल गरेअनुसार छात्तीमा कलश राख्ने संकल्प लिएको बताउनुभयो । उहाँले केहि महिना अघि आफ्नो भाई घरबाट बेपत्ता भएपछि आफ्ुले भाकल गरेको र भाई भेटिएपछि भाकल अनुसार अनुष्ठानमा बसेको बताउनुभयो ।
मण्डल र ऋषिदेवले कठोर साधना शुरु गरेपछि स्थानीय लक्ष्मिनिया यूवा क्लबले उहाँहरुको रेखदेख गर्नुका साथै आगन्तुकहरुको ब्यवस्थापनगर्दै आएको छ । मण्डल र ऋषिदेवको कठोर साधना हेर्न जहदाको दुर्गा मन्दिरमा दैनिक हजारौं श्रद्धालु तथा दर्शनार्थी आउने गरेको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष नितेश साहले आफुहरुले साधक महिलाहरुको नियमित स्वास्थ्य परिक्षण तथा रेखदेख गर्ने गरेको बताउनुभयो । यसअघिका बर्षहरुमा समेत दुर्गा मन्दिरका पुजारी बिष्णुदयाल मण्डिल सहित अन्यले समेत यसै प्रकारको साधना गरिसकेको जनाईएको छ ।
दुई महिलाको कठोर साधना धार्मिक आस्था,संकल्प र विश्वासको निरन्तरताकारुपमा हेरिएको छ ।