ग्रामथान १३ बैशाख । थारु समुदायको पहिचान जोगाउन भाषा संस्कृति र पर्वहरुको संरक्षण आवश्यक रहेको ग्रामथानमा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन ।
सिरुवा पर्वको अवसरमा थारु महिला सभा जिल्ला कार्य समिति मोरङले ग्रामथानको झोराहाटमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन । सो अवसरमा बोल्नुुहुँदै थारु कल्याणकारिणी सभा मोरङका सभापति प्रदीप भगत थारुले पारम्परिक संस्कृति तथा पर्वहरु प्रति नयाँ पुस्ताको चासो कम हुँदै गएकाले समुदायको भाषा संस्कृति लोप हुने खतरा बढेको बताउनुभयो ।
हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारुले पारम्परिक चाडपर्व मनाउन छोडे पहिचान गुम्ने भएकाले बालबालिकालाई सानै उमेरदेखि मौलिक चाडपर्वहरुसंग जोड्नुपर्ने बताउनुभयो । यस्तै बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता गच्छदारले समाजमा रहेका कुरितीहरु अन्त्यगर्न र संस्कृति संरक्षणमा महिलाहरुलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
थारु कल्याणकारिणी सभा विराटनगर महानगरका अध्यक्ष विद्यानन्द माझीले संस्कार र संस्कृति लोप हुन नदिन पुस्तान्तरण गर्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले थारु समुदायका कतिपय पर्व लोप हुने क्रममा रहेकाले राज्यले बिशेष संरक्षण गर्नुपर्ने जोड दिनुभयो ।
आयोजक थारु महिला सभाकी मोरङ अध्यक्ष जयमाला सरदारले थारु भाषासंस्कृति संरक्षण तथा महिला उत्थानका निम्ति संस्थाले बर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । कार्यक्रममा ग्रामथानका अध्यक्ष नमोनारायण माझी तथा नेतृ सुचि चौधरी सहित आमन्त्रित अन्य अतिथिले समेत बोलेका थिए ।
सो अवसरमा थारु संस्कृति झल्किने गायन र नृत्य प्रस्तुत गर्नुका साथै सहभागिले कविता समेत वाचन गरेका थिए । बयोबृद्ध ज्येष्ठ नागरीक शोभालाल भगतको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।