विराटनगर २५ पुष । नेपाल औषधि ब्यवसायि संघ मोरङले निःशुल्क आँखा जाँच शिवीर तथा औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।
संघले विराटनगर ८ स्थित विराटेश्वर बृद्धाश्रम परिसरमा शिवीरको आयोजना गरेको हो । नेपाल औषधि ब्यवसायि संघका संस्थापक सदस्य तत्कालिन मेची,कोशी र सगरमाथाको संस्थापक अध्यक्ष लक्ष्मीनाथ उप्रेतीको ३१ औं स्मृति दिवसको अवसरमा शिवीर आयोजना गरिएको हो ।
शिवीरमा रामलाल गोल्छा आँखा अस्पतालका नेत्ररोग चिकित्सक डा.राजेश यादव सहितका आँखा बिज्ञहरुले विरामीहरुको जाँच गरेका थिए । शिवीरमा विराटेश्वर बृद्धाश्रमका आश्रित सहित विराटनगर ८ र आसपासको वडाको समेतगरि १ सय १० जनाले आँखा जाँच गराएको आयोजक संस्थाका मोरङ अध्यक्ष देशबन्धु ढकालले जानकारी दिनुभयो ।
शिवीरमा आएका आँखाका विरामी मध्ये २४ जनालाई मोतियाबिन्दुको समस्या देखिएको छ भने ५ जनाको आँखामा मासु पलाएको समस्या देखिएको छ । अन्यलाई एलर्जी र चश्मा लगाउनुपर्ने देखिएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई गोल्छा आँखा अस्पतालमा अप्रेशनकानिम्ति सहजीकरण गरिने अध्यक्ष ढकालले बताउनुभयो ।
शिवीरमा आएका विरामीहरुलाई संघको तर्फबाट निशुल्क औषधि समेत वितरण गरिएको संघका बरिष्ठ उपाध्यक्ष हरिराज रेग्मीले जानकारी दिनुभयो । त्यसअघि भएको औपचारिक कार्यक्रममा बोल्नुहुँदै नेपाल औषधि ब्यवसायि संघका केन्द्रीय सदस्य प्रदीपकुमार दासले संघको मोरङ जिल्ला कार्यसमितिले देशभरिमै समाजसेवाको अब्बल कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विराटेश्वर बृद्धाश्रमका संस्थापक अध्यक्ष जगतप्रसाद अज्र्याल,आयोजक संस्थाका मोरङ महासचिव अरुण ठाकुर,सचिव सरित श्रेष्ठ,कोषाध्यक्ष मनोज मण्डल,सदस्य राजेश मण्डल र निर्वतमान मोरङ अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिना लगायतको उपस्थिति थियो ।