२८ बैशाख । मोरङको जहदा र कटहरीका तरकारी जोनमा आबद्ध किसानहरुलाई लक्षित गरेर दूईदिने माटो परीक्षण शिवीर आयोजना गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वय एकाई,मोरङको आयोजनामा कटहरी १ को जमटोकीस्थित तरकारी संकलन केन्द्रमा शिवीर आयोजना गरिएको हो । कटहरीका अध्यक्ष देवराज चौधरीले शुक्रबार शिवीरको उद्घाटन गर्नुभयो । जहदाको वडानम्बर ३ र ४ तथा कटहरीको २,३,४ र ६ नम्बर वडालाई समेटेर उक्त क्षेत्रमा तरकारी जोन संचालन हुँदै आएको छ ।

शिवीरमा झुम्कास्थित माटो तथा मल परीक्षण घुम्ती प्रयोगशालाका ४ जना माटो प्राबिधि टोलीले किसानले ल्याएका माटो परीक्षण गरिरहेका छन । माटोको स्वास्थ्य बिग्रिए विरुवाले खाद्य तत्व लिन नसक्ने भएकाले बेलाबेलामा माटो परीक्षण शिविर आयोजना गर्ने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वय एकाई,मोरङका प्रमुख बरिष्ठ कृषि अधिकृत मनोज कुमार यादवले बताउनुभयो । उहाँले उत्पादन बृद्धिको उद्देश्यसहित शिवीर आयोजना गरिएको जानकारी दिनुभयो ।

कटहरीका अध्यक्ष चौधरीले शिवीरबाट माटोको वास्तविक स्वास्थ्य अवस्था पत्ता लगाएर किसान लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँ किसानहरुको सहुलियतकालागि कटहरी गाउँपालिकाले समेत मिनि माटो ल्याब संचालन गरिरहेको जानकारी दिनुभयो ।

किसानले ल्याएका माटोको परीक्षणपछि माटोमा गर्नुपर्ने सुधार र विरुवाहरुलाई सन्तुलित खाद्यतत्व पु-याउन आवश्यक कुराहरुको सिफारिस गरिने प्रयोगशाला प्रमुख दिगम्बर यादवले बताउनुभयो । शिवीरमा तराकारी जोनमा आबद्ध किसानहरुले १ सय ५० वटा माटोको नमुना ल्याएका छन । कटहरी र जहदाको ८ सय ५२ हेक्टर क्षेत्रफलमा तरकारी जोन संचालन गरिएको छ । यद्यपि उक्त क्षेत्रको २२ सय हेक्टरमा तरकारी उत्पादन हुने गरेको बताईएको छ ।

शतप्रतिशत स्वस्थ्य माटोमा हावा २५ प्रतिशत,पानी २५ प्रतिशत,प्राङ्गारिक पदार्थ ५ प्रतिशत र ४५ प्रतिशत खनिज तत्व रहने गरेको जनाईएको छ ।

सम्बन्धित खबरहरु