विराटनगर । विश्व साक्षरता दिवसको अवसरमा विराटनगर ४ खार्जीस्थित ज्योति आधारभुत विद्यालयका ८० छात्रछात्रालाई विद्यालय पोशाक तथा जुत्ता वितरण गरिएको छ ।
रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विपन्न समुदायका विद्यार्थी अध्ययनरत उक्त विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेको हो । सो क्रममा प्रत्येक विद्यार्थीलाई एकजोडी स्कुल पोशाक,जुत्तामोजा र बिस्कुट चक्लेट वितरण गरिएको आयोजक क्लबका अध्यक्ष रेखा राठीले जानकारी दिनुभयो ।
शिक्षा तथा समन्वय ईकाई मोरङका प्रमुख टंकप्रसाद गौतम सहित एनआईसी एशिया बैंकका प्रतिनिधि र क्लबका पदाधिकारीहरुले विद्यार्थीलाई ती सामाग्रि हस्तान्तरण गर्नुभयो । विद्यार्थीलाई अध्ययन गर्न थप प्रेरणा मिलोस र सजिलो होस भन्ने उद्धेश्यले साक्षरता दिवसको अवसर पारेर पोशाक वितरण गरिएको उहाँले बताउनुभयो ।
खार्जीको उक्त विद्यालयलाई रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बितेको १ जुलाईबाट अभिभावकत्व ग्रहण गरेको छ । अभिभावकत्व ग्रहण गरिएयता बस्तीका आश्रित ४ सय ऋषिदेव परिवारलाई न्यूनतम आवश्यकताका सामाग्रिहरु नियमितरुपमा उपलब्ध गराउने काम भईरहेको उहाँले बताउनुभयो ।
केहिदिन अघि सोहि विद्यालयका १५० विद्यार्थीलाई डाउन टाउनले छाता वितरण गरेको थियो ।