विराटनगर १५ माघ । प्रदेश १ का समाजिक विकास मन्त्री जयराम यादवले कुष्ठ रोगका बिषयमा समाजमा रहेका भ्रम चिर्न थप पहल र प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

६९ औं कुष्ठरोग दिवसको अवसरमा द लेप्रोसी मिशन नेपाल र एशोसिएसन फर आईडिया नेपालले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले समाजमा अझैपनि कुष्ठरोगीहरुलाई हेलाको दृष्टिले हेर्ने र यो रोगका बिषयमा अन्धविश्वासहरु समेत रहेको बताउनुभयो । मन्त्री यादवले समाजमा भएका अन्धविश्वास चिर्न सरकार र सरोकारवाला सबैको सामुहिक पहल र प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले कुष्ठ रोगबाट ग्रसितहरुलाई उपचारकालागि समेत राज्यपक्षबाट भत्ताको ब्यवस्था गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । मन्त्री यादवले कुष्ठरोगीलाई भत्ताको ब्यवस्थागर्न आफुले प्रदेश सरकारका तर्फबाट गर्नसक्ने सम्म प्रयासगर्ने आश्वासन समेत दिनुभयो । मन्त्री यादवले कुष्ठ प्रभावितहरुलाई आत्मनिर्भर बनाउन समेत आफ्नो प्रयास जारी रहने बताउनुभयो ।


कार्यक्रममा बोल्नुहुँदै द लेप्रोसी मिसन नेपाल प्रदेश–१ का व्यवस्थापक विपिन दासले मिसनले कुष्ठ प्रभावित ब्यक्तिहरुको आर्थिक उन्नयन र उपचारमा सहजीकरण गर्दै आएको बताउनुभयो । विराटनगरस्थित कोशी अस्पतालमा यसअघिदेखीनै स्थापना गरिएको ल्याप्रोसी यूनिटलाई थप प्रभावकारीरुपमा अगाडी बढाउनसके स्थानियलाई सहज हुने उहाँले बताउनुभयो । यस्तै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश–१ का अध्यक्ष नविन ढुगेंलले प्रदेश सरकारबाट अपाङता भएकाहरुको क्षेत्रमा सरकारी बजेट खर्च हुँदै आएपनि आफूहरुले अनुभवगर्न नपाएको गुनासो गर्नुभयो । नेपाल पत्रकार महासंघ मोरङ शाखाका सभापति संजिव खनालले कुष्ठरोगका बिषयमा भएका अन्धविश्वास र भ्रम चिर्न गाउँस्तरिय जनचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द राजवंशीले कुष्ठरोगले नशा तथा छालामा असरगर्ने भएकाले समयमा उपचार गरिएन भने अंगभंग हुने जोखिम रहने बताउनुभयो । बर्षदिनसम्म औषधी खाए यो पुर्णरुपमा निको हुने उहाँले बताउनुभयो । उहाँले अहिले मोरङमा १ सय ३१ जना उपचारत रहेकोमा ०७७-०७८ मा १ सय १७ जना विरामी थपिएको तथ्यांक प्रस्तुत गर्नुभयो । मोरङगंमा ७१ ओटा संघसंस्था मार्फत कुष्ठरोगीलाई सेवा दिइराखिएको उहाँले बताउनुभयो ।

कार्यक्रमबीच सुनवर्षी नगरपालिका–८ का कुष्ठ प्रभावित व्यक्ति अफरोज आलमलाई एकथान सिलाई मेशिन हस्तान्तरण गरिएको थियो । आयोजक संस्थाले उपलब्ध गराएको मेशिन मन्त्री यादवले आलमलाई हस्तानतरण गर्नुभयो । प्रदेश एकमा ३ सय ६५ जना कुष्ठरोगका विरामी उपचारमा छन भने आर्थिकबर्ष २०७७-७८ मा ३ सय ९९ जना थपिएको सम्बन्धित कार्यालयले जनाएको छ ।

जनवरी ३० लाई प्रत्येकबर्ष विश्व कुष्ठ रोग दिवसकारुपमा मनाउने गरिन्छ । कार्यक्रममा एशोसिएशन फर आईडिया नेपालका केन्द्रीय महासचिव जयबिन यादव लगायतले समेत बोल्नुभयो ।

सम्बन्धित खबरहरु