रौनियार सेवा समाजले तीज विशेष कार्यक्रम गरेको छ।
समाजले विराटनगर ११ स्थित रौनियार सेवा सदनमा तीज विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा रौनियार समुदायका करिब एक सय महिलाहरुको सहभागिता रह्यो। सो क्रममा महिलाहरुले तीज विशेष गीतमा नृत्य गर्दै एकअर्कालाई शुभकामना आदान–प्रदान गरेका थिए।
सो अवसरमा बोल्दै रौनियार सेवा समाजका अध्यक्ष उपेन्द्र साह रौनियारले तीज महिलाहरुको सबभन्दा ठूलो धार्मिक र सांस्कृतिक पर्व भएकाले संस्थाको पहलमा सामूहिक कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस किसिमको कार्यक्रमले समुदायमा एकता, सहकार्य र आपसी सद्भावना विकास गर्न सहयोग गर्ने समेत उल्लेख गर्नुभयो।

निर्वतमान अध्यक्ष रामनरेश साह रौनियारले संस्थाले सामाजिक सेवा मात्र नभई परम्परा र संस्कृतिको संरक्षणलाई समेत प्राथमिकतामा राख्दै आएका कार्यहरूको चर्चा गर्नुभयो।
कार्यक्रममा बोल्ने महिला वक्ताहरूले तीजलाई आफ्नो हैसियत प्रदर्शन गर्ने अवसरको रूपमा होइन, सांस्कृतिक मर्यादा र धार्मिक आस्थासहित मनाउनुपर्नेमा जोड दिए।
तीज पर्व हिन्दू महिलाहरुको लागि विशेष महत्व राख्ने गर्दछ। यो पर्वमा महिलाहरुले ब्रत बसेर भगवान शिव र पार्वतीको पूजा–आराधना गर्छन्। तीजलाई वैवाहिक सुख, समृद्धि र परिवारको कल्याणको प्रतीकका रूपमा लिइन्छ। यस दिन अविवाहित युवतीहरूले राम्रो पति प्राप्तिको कामना गर्दै व्रत बस्ने परम्परा छ भने विवाहित महिलाले आफ्नो पतिका दीर्घायु र परिवारको सुख–शान्तिको लागि पूजा गर्ने गर्दछन्।

सामाजिक दृष्टिले पनि तीजले महिलाहरूलाई आफ्नो मायालु सम्बन्ध, सासू–ससुरा, दिदी–बहिनी र सहेलीहरूसँग भेटघाट गर्ने, खुसी बाँड्ने र संस्कृतिसँग जोडिने अवसर प्रदान गर्दछ। परम्परागत नृत्य, गीत र सामूहिक भोजमार्फत तीजले पीढीगत सम्बन्धलाई अझ मजबुत बनाउने कार्य गर्छ।

यस वर्ष भदौ १० गते तीज पर्व मनाइनेछ। रौनियार सेवा समाजको यो कार्यक्रमले महिलाहरूमा उल्लास र पर्वको महत्व सम्झाउने कार्य गरेको सहभागीहरूले बताएका छन्।
