विराटनगर १५ को अतिब्यस्त ठाउँमा एकै साथ विद्युतको चौदहवटा पोलहरु ढलेका छन । मध्यरातमा पोलहरु ढलेकाले मानविय क्षति हुनबाट जोगिएपनि उक्त क्षेत्रको सडक अवरुद्ध हुनुका साथै विद्युत प्रवाह पुर्णरुपमा ठप्प भएको छ ।

विराटनगरको दक्षिणी वडा, वडानम्बर १५ को बंगाली टोलमा साउन ७ गते रातिको बिहान एकैसाथ १४ वटा पोलहरु ढलेका छन । बस्तीमा रहेको बडेमानको पिपलको रुख बिजुलीको तारमा ढल्दा एकै साथ एकदर्जन बढी पोलहरु ढलेका हुन । बस्तीको दक्षिण पश्चिमतर्फ रहेको गुंजेश्वरी सोलभेन्ट उद्योग परिसर भित्रको पिपलको रुख गएको मध्यरातमा ढलेको थियो ।

ठुलो पानी न परेको र हावाहुण्डरी समेत नआएको अवस्थामा सो रुख ढलेका कारण स्थानिय अच्चमित छन । उद्योग परिसरमा रहेको रुख पश्चिमतर्फको हाईटेन्शन तथा लो टेन्शनको तारमाथि बजारिएको थियो । सयौं क्विन्टल भारी रुख पोलको तारमाथि बजारिदा त्यसको बेग तथा भारीले थिचिएर वरिपरिका पोलहरु ढलेको हुनसक्ने स्थानिय रतन डे ले बताउनुभयो ।

रातिको समयमा सिमसिम पानी परिरहेकाले पोल ढलेको थाहा पाउन नसकेपनि बिहान उठदा बाटोभरि तार र भाँच्चिएका पोल छरपस्ट देखिएको बताउनुभयो ।

पोल ढल्ने क्रममा कतिपय स्थानीयको घरको संरचनामा अडिएको छ भने तारहरु स्थानीयको घरका छतहरुमा लत्रिएको छ । रानी ट्याक्सी स्ट्याण्डदेखी उत्तरतर्फको सो बाटो जोगबनी आउजाउ गर्नेहरुको चहलपलका कारण बिहान देखि अबेर साँझसम्म अत्यधिक ब्यस्त रहने गरेको छ ।

रातको २ बजेतिर घटना भएकाले ठुलो दुर्घटना हुनबाट जोगिएको स्थानियले बताएका छन । घटनापछि रुख,पोल तथा तारहरुका कारण सो बाटो पुर्णरुपमा अवरुद्ध भएको थियो । यद्यपि एकाबिहानै बाट विराटनगर महानगरपालिका,सशस्त्र तथा नेपाल प्रहरी सहित जनप्रतिनिधि तथा स्थानियको प्रयासबाट पोल तथा रुख पन्छाएर पैदल हिडडुल गर्नसक्नेगरि बाटो खुलाईएको विराटनगर १५ का वडाध्यक्ष प्रकाश साहले बताउनुभयो ।

उहाँले ढलेको रुखको हाँगा काटेर पैदल हिडडुल गर्न मिल्नेगरि तत्काल बाटो खुलाईएको बताउनुभयो । पोलहरुमा तार जोडिएकै अवस्थामा रहेकाले किनारा गर्न नसकिएको उहाँले बताउनुभयो ।

समान्य हिंडडुल गर्नसक्नेगरि बाटो खुलाईएपनि बस्तीमा विद्युत प्रवाह पुर्णरुपमा अवरुद्ध भएको छ । अत्यधिक गर्मीको बेला विद्युत अवरुद्ध भएपनि प्राधिकरणले सुचारुगर्न तत्काल पहल नगरेका कारण ठुलो सास्ती खेप्नुपरेको स्थानियले गुनासो गरेका छन ।

सो बिषयमा प्रतिक्रिया दिनुहुँदै प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्रमुख ईन्जीनियर सरोज कुमारले घटनास्थल वरिपरि नयाँ पोलको स्टक नरहेकोले बुढीगंगाबाट पोल ल्याएर बिहीबार अपरान्हबाट विद्युत सुचारुगर्ने प्रयास भईरहेको बताउनुभयो । पोलमाथि ढलेको पिपलको रुख सय बर्ष बढी पुरानो रहेको स्थानीय ज्येष्ठ नागरीकहरुले जानकारी दिएका छन ।

विराटनगरका अन्य स्थानहरुमा पनि बिजुलीको पोलसंगै कयौं पुराना रुखहरु छन । तसर्थ यस घटनाबाट पाठ सिकेर भएपनि जोखिम क्षेत्रमा रहेकारुखहरुको समयमैं काटछाँट तथा ब्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सम्बन्धित खबरहरु