विराटनगरमा दुईवटा लघुकथा संग्रहसहित तीनवटा साहित्यिक कृतिहरूको एकैसाथ विमोचन गरिएको छ।
आभा फाउण्डेशनको आयोजनामा सम्पन्न कार्यक्रममा ‘काव्य गुच्छ’, ‘गुनासो’ र ‘तुम्हें पता है ना’ नामक तीन कृतिहरूको विमोचन गरिएको हो। असार २८ गते आयोजित कार्यक्रममा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले कृतिहरू विमोचन गर्नुभयो।
तीन कृतिहरूमध्ये ‘गुनासो’ लघुकथा संग्रहका लेखक डा. ध्रुव कुमार हुनुहुन्छ भने हिन्दी भाषामा लेखिएको लघुकथा संग्रह ‘तुम्हें पता है ना’ की लेखिका पूजा बहार हुनुहुन्छ। यस्तै, भारतको पाथेय प्रकाशनले प्रकाशित गरेको ‘काव्य गुच्छ’ कविता संग्रह पनि सोही कार्यक्रममा विमोचित गरिएको थियो।
समारोहमा नेपाल र भारतका साहित्य, पत्रकारिता, राजनीति तथा समाजसेवामा सक्रिय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा बरिष्ठ कलाकर्मी खेम नेपाली, पत्रकार शंकर खरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, प्राज्ञ विवश पोखरेल, आभा फाउण्डेशनकी अध्यक्ष आभा अनुपमा, उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल, हिन्दुस्तान टाइम्सका पत्रकार वरुण मिश्रा, प्राध्यापक तथा लेखक डा. ध्रुव कुमार, लोकतंत्र की बुनियादका सम्पादक गणेश यादव, इन्द्रेणी कला केन्द्रकी अध्यक्ष माया पौडेल, समाजसेवी शोभा लामा बल, नारी स्रष्टाकी अध्यक्ष ममता मृदुल र साहित्यकार शिव नारायण सिंगल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा आयोजक फाउण्डेशनका सचिव चाँद इराकीले संस्थाको उद्देश्य, विगतका गतिविधिहरू र भविष्यका योजना प्रस्तुत गर्दै आभा फाउण्डेशनको परिचय गराउनुभयो।

सो अवसरमा विमोचित तीनै कृतिमाथि समीक्षात्मक टिप्पणी पनि प्रस्तुत गरियो। ‘काव्य गुच्छ’ र ‘गुनासो’ कृतिमाथि साहित्यकार मधु पोखरेल र प्राज्ञ विवश पोखरेलले समीक्षात्मक मन्तव्य राख्नुभयो भने, ‘तुम्हें पता है ना’ को सन्दर्भमा साहित्यकार ममता मृदुलले धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा लेखिका पूजा बहार र डा. ध्रुव कुमारलाई फाउण्डेशनद्वारा विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन र व्यवस्थापनमा कोषाध्यक्ष साधना झा, रीता भट्टराई, आकाश अग्रवाल र कल्याणीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
