कटहरी, १ बैशाख — तराई–मधेशका सिरुवा र जुड़ शीतल लगायतका परम्परागत पर्वहरूलाई संरक्षण गर्न समुदाय थप जागरुक हुनुपर्ने आवश्यकता रहेको कटहरीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले बताएका छन्।

सिरुवा, जुड़ शीतल तथा नववर्ष २०८२ को अवसरमा थारु कल्याणकारिणी सभा, कटहरी गाउँ इकाई समितिले कटहरीको महेशपुर चोकमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले परम्परागत चाडपर्वहरू परिवार, समाज, प्रकृति र जीवनसँग प्रत्यक्ष सम्बन्धित सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण अत्यावश्यक रहेको बताएका हुन्।

कार्यक्रममा बोल्दै थारु संस्कृतिका जानकार हरिनारायण माझीले नयाँ पुस्ता आफ्नो मौलिक संस्कृतिप्रति उदासीन बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “केही दशकअघि जुड़ शीतलको दिन गाउँभरि डुलेर ज्येष्ठ मान्यजनहरूबाट आशीर्वाद थाप्ने चलन थियो, तर अहिले त्यो परम्परा परिवारभित्र मात्र सीमित हुन थालेको छ।”

त्यसैगरी, शहरतिर बसाइँ सरेका धेरै परिवारहरूले यो पर्व मनाउन समेत छाडेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जुड़ शीतलमा रुखबिरुवाको जरामा समेत पानी हाल्ने परम्परा रहिआएकोले यो पर्व प्रकृतिसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ।”

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले समुदायगत संस्कृतिहरू पालिकाको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो।

गाउँपालिकाले स्थानीय संस्कृति संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी उहाँले दिनुभयो।

थारु कल्याणकारिणी सभा महानगरका अध्यक्ष विद्यानन्द माझीले थाकस (थारु कल्याणकारिणी सभा) ले समुदायको अधिकार प्राप्तिका साथै भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।

कटहरी–१ का वडाध्यक्ष हरिनारायण राजबंशीले युवापुस्ताले आफ्नो मौलिक संस्कृति र जातीय पहिचानप्रति चासो लिएर यसको संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका आयोजक तथा थारु कल्याणकारिणी सभा कटहरी गाउँ इकाई समितिका अध्यक्ष दिलीप माझीले जुड़ शीतल पर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा युवा नेता विश्वनाथ चौधरी, समाजसेवी शेषनारायण राजबंशी, घुरनलाल माझी तथा जागृति महिला समाजकी अध्यक्ष सरस्वती यादव माझी लगायत स्थानीयको उल्लेखनीय उपस्थिति थियो।

सम्बन्धित खबरहरु