विराटनगरमा छैठौं संस्करणको साईकल रेस प्रतियोगिता सम्पन्न भएको छ ।
स्वस्थ्य जीवन र सामुदायिक भावनाको विकासगर्ने उद्धेश्यसहित आयोजना गरिएको प्रतियोगितामा ३ सय ५० बढीले सहभागिता जनाएका छन । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा विराटनगरमा साईक्लोथन सिक्स प्वाइन्ट ओ प्रतियोगिता सम्पन्न भएको हो ।
१४ किलोमिटर दुरीको साईकल रेस स्थानीय आदर्श विद्यालय प्राङ्गणबाट शुरु भएको थियो । प्रतियोगिता शुरु गर्नुअघि सहभागिलाई वार्मअप गराईएको थियो । द गोल्ड जिमका प्रतिनिधिले सहभागिलाई वार्मअप गराएका थिए । त्यसलगत्तै शहिद रंगशाला सामुन्नेको सडकबाट साईकल रेस प्रारम्भ भएको थियो ।
प्रतियोगिताका सहभागिलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया,मिस्टर नेपाल सन्तोष लक्सुम लिम्बु र मिस नेपाल आश्मा केसीले झण्डा देखाएर रेस शुरु गर्नुभएको थियो । सहिद रंगशाला अगाडिबाट शुरु भएको साईकल रेसका सहभागिले गोल्छाचोक,तिनपैनी,पुष्पलालचोकहुँदै विराटनगर १९ को मिलनचोकसम्म पुगेका थिए ।
त्यहाँ पुगेका प्रतियोगिलाई आयोजकले दिएको ह्याण्ड ब्याण्ड लिएर फर्किएका थिए । प्रतियोगितामा त्रियुगा नगरपालिका १० का १८ बर्षीय निमा शेर्पा प्रथम भएका छन भने धरान नगरपालिका ११ का १७ बर्षीय दिपसागर तामाङ दोश्रो तथा त्रियुगा १० का १४ बर्षीय कुशान शेर्पा तेश्रो भएका छन । प्रथम हुने निमाले २५ मिनेटमा १४ किलोमिटर दुरी पार गरेका थिए ।
स्वास्थ र सामुदायिक भावनाको विकास तथा संस्थाको कोषबृद्धिको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विवेक कुमार अग्रवालले जानकारी दिनुभयो । प्रतियोगिताका बिजयी प्रथमहुनेलाई नगद १५ हजार,दोश्रोलाई १०हजार र तेश्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।यसैगरी प्रतियोगितामा सहभागिलाई लक्की ड्र मा सहभागि गराई २५ जनालाई जनही ५ हजार नगद उपहार प्रदान गरिएको थियो ।
प्रतियोगितामा सामेल हुन विद्यार्थीलाई ५ सय र अन्यलाई १ हजार रजिस्ट्रेशन शुल्क तोकिएको थियो ।