धनपालथान १० माघ । मोरङको धनपालथान गाउँपालिकाको वडानम्बर ३ सोराभागमा आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ समापन भएको छ ।
सोहि वडामा रहेको श्री कपिलेश्वर नाथ महादेव मन्दिरको अक्षयकोष स्थापनाको उद्धेश्यसहित श्रीमद् भागवत आयोजना गरिएको थियो । माघ ३ बाट आयोजना गरिएको सप्ताह ज्ञानमा कथा वाचिका प्रशंसा देवी उपाध्यायले महापुराण वाचन गर्नुभयो । मन्दिरको कार्य संचालनको उद्धेश्यसहित अक्षयकोष स्थापना तथा समाजमा धार्मिक जागरण ल्याउन आयोजना गरिएको महायज्ञमा धर्मपरायण ब्यक्तीहरुले नगद तथा जिन्सी दान गरेका छन ।
सो क्रममा धनपालथान ४ मा रहेको आर.एन.सन्स फ्युल सेन्टर का अध्यक्ष समेत रहनुभएका समाजसेवी रामनरेश साह रौनियार र पम्पका संचालक मनिस कुमार साह रौनियारले अक्षय कोष स्थापानार्थ ५१ हजार नगद राशि दान गरेका छन । मठ मन्दिरले समाजमा नैतिकता र सदाचारको विकासमा समेत भुमिका खेल्ने भएकाले मन्दिर संचालन सहजताको उद्धेश्यसहित सहयोग उपलब्ध गराएको समाजसेवी साहले बताउनुभयो ।
सप्ताह पुराणको क्रममा अक्षयकोष स्थापनाका निम्ति सहयोगि धर्मानुरागिहरुबाट.८ लाख बढी दान प्राप्त भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ पुराण समितिका संयोजक सुकदेव प्रसाद मण्डलले जानकारी दिनुभयो । महायज्ञकै बिच प्रमुख कथाबाचिकाद्वारा दान दाताहरुलाई प्रशंसापत्र र दोसल्ला सहित सम्मान गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गुलाबचन्द मण्डलले जानकारी दिनुभयो ।
महापुराणको क्रममा दैनिक कथावाचनका साथै भजन–किर्तन,नृत्य नाटिका,लाख बत्ती प्रज्वलन र प्रसाद वितरण लगायतका कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।