विराटनगर ६ पुष । होमियोपैथिक चिकित्सा सम्बद्ध ब्यक्तीहरुले होमियोपैथीको विकासका निम्ति अविलम्ब मेडिकल काउन्सिल गठनको आवश्यकता रहेको बताएका छन ।
विराटनगरमा शनिवारबाट शुरु भएको नेपालभारत दुईदिने होमियापैथिक बैज्ञानिक स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । नेपाल होमियोपैथिक चिकित्सक संघका संस्थापक डा. जीवनप्रकाशले नेपालमा होमियोपैथिको विकासकानिम्त आफुहरुले लामो समयदेखी होमियोपैथिक मेडिकल काउन्सिल गठनको माग उठाउँदै आएपनि पुरा नभएको बताउनुभयो ।
उहाँले काउन्सिल नभएकै कारण बर्षेनी भारत लगायतका मुलुकबाट होमियोपैथिक चिकित्सक अध्ययन गरेर फर्कने डाक्टरहरुले आफ्नो पेशालाई दर्ता गराउन नसकेको बताउनुभयो । उहाँले अविलम्ब बोर्ड गठन गरेर होमियोपैथिक चिकित्सकहरुको दर्ता गर्ने ब्यवस्थागर्न पनि माग गर्नुभयो । पछिल्लो समय मुलुक प्रादेशिक संरचनामा गएकाले प्रदेश सरकारले चाहे सजिलै काउन्सिल गठन गर्न सकिने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रमका समन्वयक बिष्णुप्रसाद मिश्रले नेपाल सरकारले होमियोपैथिक चिकित्सकलाई डाक्टर सरह मान्यतादिन कन्जुस्याइँ गरेको गुनासो गर्नुभयो । उहाँले केहिबर्ष अघि विराटनगरमा संचालनमा ल्याएर बन्द गरिएको होमियोपैथिक कलेज शुरु गराउन प्रदेश सरकार सामु आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष डा.रविन्द्र रायले शुरु भएको दुई दिने होमियोपैथिक सम्मेलनले नेपालभारतका चिकित्सक र स्वास्थ्यकर्मीबिच होमियोपैथिक चिकित्सा क्षेत्रमा भएका प्रगति र अनुसन्धानकोहरुको आदान प्रदानगर्न सहज हुने विश्वास ब्यक्त गर्नुभयो । संघका महासचिव डा.रवि रायले नेपालमैं होमियोपैथिक औषधि उत्पादनको सम्भावना रहेकाले त्यसतर्फ सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
हाल नेपालमा कुनैपनि औषधि उत्पादक नरहेकाले बाहिरबाट औषधि मगाउनु परिरहेको उहाँको भनाई थियो । सम्मेलनको उद्घाटन गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुईदिने सम्मेलनबाट निस्कने निष्र्कष लाभदायक हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले मेडिकल काउन्सि गठन गर्ने बिषय केन्द्रीय सरकारले गर्ने भएकाले त्यसकालागि आफुले सकारात्मक पहलगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले होमियोपैथिकको विकासका निम्ति सम्भाब्यता अध्ययनगर्न टिओआर सहितको सानो आकारको अध्ययन टिम गठन गर्ने समेत आश्वासन दिनुभयो । मुख्यमन्त्री कार्कीले आउदो आर्थिक बर्षबाट होमियोपैथिकको विकासका निम्ति आवश्यक बजेटपनि विनियोजनगर्ने आश्वासन दिनुभयो । सो अवसरमा संघका संस्थापक अध्यक्ष डा. जीवन प्रकासलाई होमियो क्षेत्रमा २५ बर्षको योगदानको कदरगर्दै लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
मुख्यमन्त्री कार्कीले उहाँलाई सो अवार्ड प्रदान गर्नुभयो । यस्तै भारतका दुई चिकित्सकहरु डा.प्रेमनारायण श्रीवास्तव र डा.सब्बिर खानलाई गोल्डेन सर्भिस अवार्ड,भारतकै मियाज अहमदलाई लिगेसी अफ एक्सिलेन्स अवार्ड तथा नेपालका गोपाल गुप्ता,सकलदेव मण्डल र लेखनाथ भट्टलाई अनर अफ डेडिकेशन सम्मान बाट सम्मानित गरिएको थियो ।
यसैगरि सलिना गुरागाई र रामुकमार अधिकारीलाई गेस्ट अफ अनरबाट सम्मानित गरिएको थियो ।