विराटनगर । कर्मचारी सञ्चय कोषले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।

कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । समारोहमा सहभागिहरुले सञ्चयकर्ताको भरोसा जित्दै अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा कोषलाई स्थापित गर्नेतर्फ अगाडी बढनुपर्ने बताएका थिए ।

कार्यक्रममा सहभागिहरुले सञ्चयकर्ता तथा योगदानकर्ताको योगदान रकमको कुशल व्यवस्थापन तथा परिचालन, प्राप्त प्रतिफलको न्यायोचित वितरण र सेवा प्रवाहमा समेत गुणात्मक सुधार गर्दै सेवाग्राहीको हित र सन्तुष्टिप्रति कोष परिवार सदैव क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरका प्रमुख राम शरण अर्यालले सञ्चय कोषले निजामति, जंगी र प्रहरी सेवातर्फका कर्मचारीहरुका साथै शिक्षक, सार्वजनिक संस्थान तथा नीजि प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ५ लाख ७५ हजार भन्दा बढी नियमित सञ्चयकर्ताको करिव ६ खर्ब बराबरको सञ्चय कोष रकम व्यवस्थापन गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको बताउनुभयो ।

उहाँले स्थापना कालदेखि सञ्चय कोषको मात्र व्यवस्थापन गर्दै आएको कर्मचारी सञ्चय कोषले २०७६ साल यता निवृत्तिभरण कोष ऐन, २०७५ बमोजिम योगदानमा आधारित निवृत्तभरण कोषको समेत व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो । कोशी प्रदेशका प्रमुख सचिब केदारनाथ शर्माले सञ्चय कोषले गुणात्मक सुधार गरेर कर्मचारीको मन जित्नुपर्ने बताउनुभयो ।

उहाँले कोषमा स्थित नेतृत्व आवश्यक रहेको समेत बताउनुभयो । विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पराजुलीले संचय कोषले कमर्चारीलाइ सहजता प्रदान गरिनुपर्नेमा जोड दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले नीति निर्माण थप सुधार गरेर कोषलाई प्रभावकारी सेवा प्रवाहमा सहजता प्रदान गरिनुपर्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु