धनपाथान १५ जेठ । मोरङको धनपालथान गाउपालिकामा प्रथम उपाध्यक्ष कप कबड्डी प्रतियोगिता शुरु भएको छ ।
धनपालथान युवा क्लब मोरङको आयोजना तथा धनपालथान गाउपालिका र ३ नम्बर वडा कार्यालयको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । धनपाथान ३ सोराभागमा शुरु भएको प्रतियोगिताको कोशी प्रदेश सभा सदस्य गयानन्द मण्डल र धनपालथानका उपाध्यक्ष नसिमा बानोले मंगलबार प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा ८ महिला टिम सहित ८ पुरुष टिमको सहभागिता छ । प्रतियोगितामा महिला टिमतर्फ रतुवामाई नगरपालिकाको सिद्धार्थ युवा क्लब,विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस,बेलबारी नगरपालिका,रंगेली नगरपालिका,सुन्दर हरैचा नगरपालिका,जहदा गाउँपालिका, उर्लाबारी नगरपालिका र धनपाल थान गाउँपालिकाको टिमले सहभागिता जनाई रहेका छन ।
यस्तै पुरुषतर्फ ईनरुवा नगरपालिका,रतुवामाईको सिद्धार्थ युवा क्लब,जहदा गाउँपालिका,विराटनगरको जतुवा युवा क्लब,बेलबारी नगरपालिका,रंगेली,धनपालथान र विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको टिमको सहभागिता छ ।
खेलकुद तालिका अनुसार प्रत्येकदिन महिला र पुरुषको एक–एकगरि २ खेल हुने आयोजक धनपालथान युवा क्लबका सचिव शेखर विश्वासले जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत जेठ २० गते सेमिफाईनल खेल हुने र त्यसपछि फाईनलको मिति तय गरिने विश्वासले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ महेन्द्र मोरङ विराटनगरको टिमलाई पराजितगर्दै रतुवामाईको सिद्धार्थ युवा क्लबले जित हात पारेको छ भने पुरुष तर्फ रतुवामाईकै सिद्धार्थ युवा क्लबलाई पराजितगर्दै ईनरुवा नगरपालिकाको टिम बिजयी भएको छ ।
धनपालथान क्षेत्रका युवायुवतीबिच पारम्परिक खेल कबड्डी निकै नै लोकप्रिय रहेकाले खेलाडीहरुलाई प्रोत्साहित गर्न यस पल्टदेखी गाउँपालिकाको सहयोगबाट उपाध्यक्ष कप शुरु गरिएको धनपालका उपाध्यक्ष नसिमा बानोले जानकारी दिनुभयो । उहाँले आगामी बर्षहरुमा समेत प्रतियोगितालाई निरन्तरता दिईने जानकारी गराउनुभयो ।
प्रतियोगितामा मोरङका कबड्डी प्रशिक्षक यशोदा पोखरेल,भुपु प्रशिक्षक बिकुलाल चौधरी,राष्ट्रिय रेफ्री सरस्वती गुरुङ र मोरङ जिल्ला खेलकुद समितिका उपाध्यक्ष शशिकला श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरिरहनुभएको छ ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद ४१ हजारका साथै मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ यस्तै उपविजेतालाई २५ हजार नगद राशि सहितको पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।