विराटनगर । अखिल नेपाल महिला संघ विराटनगर ५ वडा कमिटिले ७० जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेको छ ।
संघले त्रिमुर्तिचोकस्थित राम मन्दिर परिसरमा ज्येष्ठ आमा सम्मान कार्यक्रमको आयोजनागर्दै वडाभित्रका ८० बर्ष माथिका ७० जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेको हो । सो क्रममा विराटनगर ५ कै प्रशन्न टोल निवासी १०४ बर्षीया गंगा शर्मा सहित अन्यलाई खादा गम्छा सहित सम्मान गर्नुका साथै खीर तथा फलफुल भोजन गराईएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय कमिटि सदस्य सरस्वती खरेल,नेकपा एमालेका नेता विनोद ढकाल र नेकपा एमालेका महानगर कमिटि अध्यक्ष सागर थापा लगायतले ज्येष्ठ नागरीकहरुलाई सम्मान गर्नुभयो । आसन्न मातातीर्थ औंसीको अवसर पारेर ज्येष्ठ आमा सम्मान कार्यक्रम गरिएको आयोजक अखिल नेपाल महिला संघ विराटनगर ५ वडा कमिटि अध्यक्ष मैया निरौलाले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्नुहुँदै अखिल नेपाल महिला संघकी केन्द्रीय कमिटि सदस्य खरेलले पछिल्लो समय ज्येष्ठ नागरीकहरुलाई आश्रममा राख्ने परिपाटि देखिन थालेको बताउहुँदै आफ्ना आमाबाबुलाई घरमैं माया तथा सम्मान साथ राख्नुपर्ने बताउनुभयो । यस्तै नेता ढकालले ज्येष्ठ नागरीकहरुको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका महानगर अध्यक्ष थापाले नेकपा एमाले ज्येष्ठ नागरीकहरुको सम्मानगर्दै समाज रुपान्तरणको अभियानमा रहेको बताउनुभयो । उहाँले बुवा आमा आफैंमा तीर्थ हुनेभएकाले उहाँहरुको मनबाट सेवा गर्नेले चारधाम गईरहन नपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्यहरु मीनकुमार आचार्य,नोवलप्रसाद उपाध्याय,केदार कार्की,शिवकुमार थापा र रमा रिजाल लगायत अखिल नेपाल महिला संघ आबद्ध क्षेत्रीय तथा वडा कमिटिका पदाधिकारीहरुको सहभागिता थियो ।