विराटनगरमा १५ जोडी युवायवतीको सामुहिक विवाह सम्पन्न भएको छ । महेश्वरी महिला मञ्चको आयोजनामा स्थानीय अतिथि सदनमा आदिवासी समुदायका युवायुवतीको सामुहिक विवाह सम्पन्न भएको हो ।

विराटनगरको अतिथि सदनमा बिहीबार दिउँसो बेहुला बेहुलीको पोशाकमा सजिएका युवायुवतीहरुका साथै तिनका आफ्न्त,जनप्रतिनिधि ,सामाजिक अभियन्ता लगायतको जमघट थियो । विपन्न तथा पिछडिएका समुदायको उत्थानको क्षेत्रमा कामगर्दै आएको माहेश्वरी महिला मंचले आयोजना गरेको सामुहिक विवाहमा सहभागिता जनाउनेहरुको उपस्थितिले अतिथि सदनको प्राङ्गण भरिभराउ थियो ।

सो ठाउँमा झापा र मोरङका १५ जोडिको विवाहकालागि बेग्लाबेग्लै विवाहस्थल र मण्डप बनाईएको थियो भने विवाह सम्पन्न गराउन पुरोहित आमन्त्रण गरिएका थिए । उत्सवको माहौलमा यि युवाजोडीहरुको विवाह सम्पन्न भएको छ । विवाहमा सहभागि मोरङका बेहुला बिजय मर्डी र झापाकी बेहुली रेनुका सत्ताले सामुहिक विवाहमा सहभागि हुन पाउदा आफुहरुलाई खुशी लागेको प्रतिक्रिया दिए ।

अभिभावकको आर्थिक अवस्था कमजोर हुनेकालागि सामुहिक विवाह उपयुक्त हुने बेहुली रेनुकाको भनाई छ ।
विवाहस्थल नजिकै बरबधु पक्ष तथा आमन्त्रित समेतकालागि ५ सय जनाको भोजको समेत ब्यवस्था गरिएको थियो । मण्डप नजिकै विवाह सम्पन्न भएपछि नयाँजोडीलाई घरजमकालागि प्रदान गरिने लुगाफाटा,भाँडाबर्तन,दराज,पलंग सहितका फर्निचर र खाद्यान्न लगायतका सामाग्रि राखिएको थियो ।

आयोजक समितिले एउटा विवाह र विवाहपछि घरजमगर्न आवश्यकतापर्ने सबै सामानको जोहो गर्नुका साथै उत्सवको वातावरण निर्माण गरेर युवाजोडीको सामुहिक विवाह सम्पन्न गराएको छ । विवाहमा सहभागि बेहुलालाई लुगाफाटाका साथै बेहुलीलाई सुनको तिलहरी,नाक तथा कानको सुनकै गहना र चाँदीको पाउजु लगायत आवश्यक सबै सामान उपहार दिएको छ ।

त्यतिमात्र नभई १५ जनै बेहुलीको नाममा ५ बर्षपछि झिक्न मिल्नेगरि ११ हजार राशिको मुद्धती खाता समेत खोलिदिएको आयोजक माहेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिनुभयो । विवाहमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की,जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साह समेत सहभागि हुनुभयो ।

उहाँहरुले सामुहिक विवाहको अवधारणा प्रसंशनिय रहेको र यसबाट विपन्न समुदायका अभिभावकलाई ठुलो राहत मिलेको बताउनुभयो । सामुहिक विवाह सम्पन्न गराउन आयोजक संस्थाका साथै समाजसेवीहरुबाट स्वेच्छाले सहयोग संकलन गरिएको बताईएको छ । विवाह सम्पन्नगर्न झण्डै २५ लाख रुपैया खर्च भएको आयोजक समितिले जनाएको छ ।

६ महिनादेखीको चाँजोपाँजोपछि सामुहिक विवाह सम्पन्न गर्न सकेको आयोजक समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु