विराटनगर र कटहरीको सिमाना हाटखोलामा लाग्दै आएको बुधबारे हटिया कृषि तथा फलफुल बजार परिसरमा स्थानान्तरण हुने भएको छ ।

आगामी साउन ३ गतेदेखी हाटखोलाको हटिया कटहरी १ को जमटोकीमा रहेको कृषि तथा फलफुल बजारमा स्थानान्तरण हुने भएको हो । पछिल्लो समय कृषि बजार संचालनको जिम्मा संघ र प्रदेश हुँदै कटहरी गाउँपालिकामा आएपछि हाटखोलामा अब्यवस्थितरुपमा लाग्दै आएको हटिया कृषि बजारमा सार्न लागिएको गाउँपालिकाले जनाएको छ ।

हाटखोलामा हुलाकी राजमार्गकै छेउमा बुध हटिया लाग्दै आएका कारण त्यस क्षेत्रको सडक जाम हुने समस्या देखिएकाले प्रहरी प्रशासनको समेत ध्यानाकर्षणपछि हटिया स्थानान्तरणगर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो । उहाँले कृषि तथा फलफुल बजारको फराकिलो र भब्य संरचनालाई सदुपयोगगर्ने समेतको उद्धेश्य सहित हटिया सार्न लागिएको बताउनुभयो । हटिया संचालनगर्न आवश्यकपर्ने मर्मत सम्भार लगायतकालागि प्रदेशको कृषि मन्त्रालयले ५० लाख रकम समेत बिनियोजन गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

कटहरी १ नम्बर वडा कार्यालयले हटिया संचालनगर्ने बिषयमा बिहीबार स्थानिय राजनितिक दलका प्रतिनिधि र नागरीक समाजसंग छलफल समेत गरेको छ । छलफलका सहभागि अधिकांशले सरसफाई तथा सुरक्षाको उपयुक्त ब्यवस्था गरेर हटिया संचालनगर्न सुझाव दिएका छन । सो अवसरमा बोल्दै कटहरी १ का वडाध्यक्ष हरिनारायण राजवंशीले कृषि बजारमा साताको ३ दिन हटिया संचालन हुने जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा शनिवार,आईतबार र बुधबारगरि साताको ३ दिन हटिया लगाईने बताउनुभयो । क्रमिकरुपमा सातैदिन हटिया लगाउनेगरिको वातावरण निर्माण गरिने वडाध्यक्ष राजवंशीले बताउनुभयो । नेकपा एमालेका नेता महेश भट्राईले कृषि बजारको संरचनालाई सदुपयोगर्दै हटिया संचालनगर्ने निर्णयको स्वागत गर्नुभयो । उहाँले ब्यवस्थापन समिति गठन गरेर हटियालाई ब्यवस्थित गर्न सुझाव दिनुभयो ।

कटहरी ५ का स्थानिय समेत रहनुभएका नेकपा एमालेका युवा नेता मुकेश बुढाथोकीले विराटनगरको सिमानासंग जोडिएकै ठाउँमा हटिया सार्न लागिएकाले उपभोक्ता,किसान र ब्यवसायि सबैलाई सहज हुने बताउनुभयो । जनता समाजबादी पार्टी नेतृ रञ्जु बर्मा,नेकपा माओबादी केन्द्रका स्थानिय नेता चन्देश्वर सहनी,राष्ट्रिय प्रजातन्त्र पार्टीका बसन्त राजवंशी र जागृति युवा क्लबका अध्यक्ष सत्यनारायण चौधरी लगायतका वक्ताहरुले त्यसक्षेत्रमा हटिया संचालनगर्दा स्थानियको आर्थिकस्तरमा बृद्धि हुने बताउनुभयो ।

संघीय कृषि विकास मन्त्रालयको ब्यबसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) अन्तर्गत करीब १७ करोडको लागतमा २०६८ सालमा सम्झौता भई त्यस ठाउँमा अत्याधुनिक फलफुल तथा तरकारी बजार निर्माण भएको थियो । १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको सो तरकारी बजारमा १७ वटा होलसेल पसल राख्न मिल्ने गरी १४ सय ८८ वर्गमिटरमा अत्याधुनिक भवन निर्माण भएको छ भने ३ सय ५१ वर्गमिटरमा खुद्रा विक्री भवन निर्माण गरिएको छ ।

यस अघि निजि ब्यक्तीको जग्गा लिजमा लिएर गाउँपालिकाले हाटखोलामा हटिया संचालन गर्दै आएको थियो ।

सम्बन्धित खबरहरु