कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको ३० बर्षपछि निर्माण कार्य पुरा भएको छ ।

गाउँपालिका भवन पुर्वतर्फ जग्गामा निर्माण गरिएको भवनको बुधबार उद्घाटन गरिएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रमकाबीच भवनको उद्घाटन गर्नुभयो । उक्त भवनको २०५० सालमा शिलान्यास गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाका तत्कालिन अध्यक्ष ज्ञानचन्द दुगड र कटहरी उपशाखाका तत्कालिन अध्यक्ष श्याम मण्डलको पालामा उक्त भवनको शिलान्यास गरिएको थियो । रेडक्रस भवन निर्माणकालागि भन्दै स्थानिय यशोदा कामतले ५ धुर जग्गा दानमा दिनुभएको थियो ।

शिलान्यास पछि जगसम्मको निर्माण कार्य गरेर यत्तिकै छाडिएको थियो । जसका कारण उक्त स्थान फोहोर फाल्ने डम्पिङ साईटमा परिणत भएको थियो । बजेट अभाव,देशको विगतको अवस्था र बिगतका जनप्रतिनिधिले चासो नदिंदा भवन निर्माणकार्य ओझेलमा परेको कटहरीका अध्यक्ष चौधरीले बताउनुभयो ।

गाउँपालिकाको २९ लाख ६४ हजार रकममा ४ कोठे भवनको निर्माण गरिएको हो । निर्माण गरिएको चारकोठा मध्ये २ कोठामा रेडक्रसको कार्यालय र दूई कोठामा गाउँपालिकाको रोजगार र शिक्षा शाखा संचालनमा ल्याइएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मोरङका अध्यक्ष सुबोधकुमार सिंह,कटहरी ३ का वडाध्यक्ष जदुलाल कामत तथा कटहरी १ का वडाध्यक्ष हरि राजवंशी लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु