विराटनगर १३ जेठ । सनातन धर्म सेवा समितिले वैदिक धर्म संस्कृति तथा शिक्षा क्षेत्रमा योगदान दिंदै आएका ५ वटा संस्थालाई पुरस्कृत गरेको छ ।
समितिको साधारण सभाको अवसरमा विराटनगर २ स्थित कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच जनही नगद २१ हजार सहित ५ वटा संस्थालाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने संस्थाहरुमा बर्जु गाउँपालिका सुनसरीको शिव माध्यमिक विद्यालय,विराटनगर ३ स्थित हाम्रो ज्येष्ठ नागरीक हातेमालो सेवा समाज,विराटनगरकै पूर्वाञ्चल बाल कल्याण आश्रम,जहदा गाउँपालिकास्थित सतारेश्वर शिव मन्दिर र विराटनगर मधुमाराको अष्ट चिरञ्जिीवी मन्दिर रहेका छन ।
पुरस्कृत हुने संस्थाहरुमध्ये शिव माध्यमिक विद्यालयलाई शिवदत्त रमादेवी भट्टराई वैदिक धर्म संस्कृति पुरस्कार,हाम्रो ज्येष्ठ नागरीक हातेमालो सेवा समाजलाई आशकरण यशोदादेवी वैदिक धर्म संस्कृति तथा शैक्षिक पुरस्कार र पूर्वाञ्चल बाल कल्याण आश्रमलाई किसनलाल रुकमणी देवी राजगढिया वैदिक धर्म संस्कृति पुरस्कार प्रदान गरिएको छ ।
यसैगरि सतारेश्वर शिव मन्दिरलाई ओमप्रकाश उषादेवी गोयल वैदिक धर्म संस्कृति पुरस्कार तथा अष्ट चिरञ्जीवी मन्दिरलाई रामनाथ रुक्मिणी देवी भगत स्मृति वैदिक धर्म संस्कृति पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमकाबीच समाजसेवी सुरेश शर्मा र आयोजक संस्थाका अध्यक्ष कविराज न्यौपाने लगायतले पुरस्कार हस्तान्तरण गर्नुभयो ।
विगतमा ब्यक्तीलाई पुरस्कार प्रदान गर्ने गरिएकोमा यसपटक देखी सनातन धर्म तथा मानव सेवामा समर्पित संस्थाहरुलाई पुरस्कार प्रदान गर्न थालिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । सधारण सभाकाबीच संस्थाका सचिव माधवप्रसाद काफ्ले र कोषाध्यक्ष शिरोमणी भट्टराईले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी,संस्थाका सदस्य प्रकाशदत्त भट्राई,प्रतिमा निरौला,जुगलकिशोर राठी र भिखमचन्द सरल लगायतको उपस्थिति थियो ।