विराटनगर । प्रदेश एकका पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले वातावरणलाई प्रतिकुल असर नपर्नेगरि वनको सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल वन पैदावर उद्योग ब्यवसायी संघ मोरङको बार्षिक साधारण सभालाई सम्बोधनगर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री आचार्यले एकातर्फ ढलापडा तथा बुढा रुखहरु जंगलमैं नष्ट हुने अवस्था रहेको बताउनुहुँदै अर्कोतर्फ मलेशिया लगायतका देशहरुबाट प्रशस्त काठहरु आयात भईरहेको बताउनुभयो ।
बजारमा स्वदेशी काठको अभावका कारण यस्तो अवस्था निम्तिएको बताउनुहुँदै उहाँले वातावरणमा प्रतिकुल असर नपर्नेगरि विधि सम्मत तवरले वनको सदुपयोगका निम्ति आफुले पहल गर्ने आश्वासन दिनुभयो । मन्त्री आचार्यले वन ब्यवस्थापनमा देखिएका समस्याहरुको बिषयमा आफु पुर्ण जानकार रहेको बताउनुहुँदै ब्यवसायिहरुसंगकै समन्वयमा आगामी नीति ल्याईने उहाँले बताउनुभयो ।
संघका निर्वतमान अध्यक्ष एवम प्लाईउड संघ प्रदेश एकका अध्यक्ष सिताराम अग्रवालले सरकारले बिदेशी काठको आयातलाई कमगर्ने बताईरहेपनि त्यो भाषणमा मात्र सिमित रहेको बताउनुभयो । उहाँले संघीय वन नियमावली अनुसार हुवर फर्मूला अनुसार काठको गोलियाको आयतन निकाल्ने नियमले काठको मुल्य अत्यधिक बृद्धि भएको दाबी गर्दै विश्व परिवेशले प्रयोग गर्दै आएको क्वाटरगर्थ फर्मुला लागु गर्नुपर्ने माग गर्नुभयो ।
संघका प्रदेश अध्यक्ष बाबुराम घिमिरेले मुलुक प्रादेशिक संरचनामा गईसकेपनि प्रदेश अन्र्तगतका डिभिजन वन कार्यालयहरु,सामुदायिक वन तथा साझेदारी वनबाट हुने लिलाम बिक्रीको सूचना र बोलपत्र फारम हालसम्मपनि प्रदेश वन मन्त्रालयमा उपलब्ध नहुने गरेको गुनासो गर्नुभयो । यस्तो अवस्थाले अझपनि केन्द्रीकृत ब्यवस्थता नै रहेको अनुभुति भएको बताउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष बिजय कार्की लगायतका अन्य वक्ताहरुले वनपैदावारको संकलन तथा वितरण प्रकृयालाई सहज बनाउनुपर्ने माग गरेका थिए ।