विराटनगर । ‘को बन्छ स्टार ?’ सिजन ७ को कलाकार छनौट कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगरस्थित सृष्टि नृत्य कला प्रशिक्षण केन्द्रको आयोजनामा स्कुले विद्यार्थीलाई लक्षितगरि प्रत्येक बर्ष को बन्छ स्टार प्रतियोगिता आयोजना हुँदै आएको छ । विराटनगर–२ स्थित सनातन धर्म सेवा समितिको सभाहलमा शनिवार सो संस्थाको आयोजनामा दोश्रो चरणको कलाकार छनौट कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगिता अन्र्तगतको दोश्रो चरणको छनौटमा ७५ जना स्कुले बालबालिका सहभागि भएका छन । पहिलो चरणमा भएको छनौटबाट ७५ जनाले दोश्रो चरणको यात्रा तय गरेका हुन । सहभागि प्रतिस्पर्धिले स्टेजमा गायन,नृत्य लगायतका आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संगीतकार सुधिर शाही,नृत्य प्रशिक्षकद्वय सुमन रुचाल र गीता कोईरालाले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । प्रतिस्पर्धामा आएकामध्ये ४५ जना सेमिफाईनलकालागि छनौट भएको सृष्टि नृत्य कला केन्द्रका अध्यक्ष राजकुमार रायले जानकारी दिनुभयो ।
प्रतियोगिताको सेमिफाईनल फागुन ६ गते शनिवारका दिन आयोजना गरिने रायले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताको फाईनल प्रतिस्पर्धा फागुन १९ गते विराटनगरमा आयोजना गरिने जनाईएको छ । बिजयीलाई उपाधि र प्रमाणपत्र सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले बर्षेनी प्रतियोगिता आयोजना गर्ने गरिएको जनाईएको छ ।