विराटनगर । भन्सार एजेन्ट महासंघ नेपालले सुनसरी भन्सार कार्यालयमा सेलेक्टिभ मोड्युल प्रणाली लागु गर्न माग गरेको छ ।
सुनसरी भन्सार कार्यालयमा हालसम्म पनि नयाँ भन्सार ऐन बमोजिम छनौट प्रणालीका आधारमा मालबस्तु जाँचपास गर्ने प्रयोजनकालागि सो मोडल लागु नभएकाले उक्त प्रणाली लागुगरि एजेन्ट मार्फत भन्सार जाँचपासको ब्यवस्था गर्न महासंघले माग गरेको हो । महासंघले उक्त माग सहित सुनसरी भन्सार कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
भन्सार एजेन्ट महासंघका प्रथम उपाध्यक्ष तथा संघसंस्था समन्वय समितिका संयोजक काँशीराज उपाध्यायले विराटनगर भन्सार एजेन्ट संघको तर्फबाट सुनसरी भन्सार कार्यालयलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो । सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख गणपति कँडेललाई उक्त ब्यहोराको ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।
सुनसरी भन्सारमा सेलेक्टिभ मोड्युल प्रणाली लागू गरि मालवस्तु जाँचपास प्रकृयामा भन्सार एजेन्टहरुलाई सामेल गराउन मागगर्दै ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाईएको हो ।
पुस १८ गते बुझाईएको ज्ञापनपत्रमा भन्सार एजेन्टको ईजाजत पत्र प्राप्तगरि जाँचपास प्रक्रियामा सहभागि हुन भन्सार कार्यालय पुग्ने अधिकांश एजेन्टहरुले काम नपाईरहेको सम्बन्धमा समेत भन्सार कार्यालयको ध्यानाकर्षण गराईएको छ । महासंघले भन्सार बिभाग त्रिपुरेश्वरलाई समेत ज्ञापनपत्रको बोधार्थ पठाएको छ ।
आउदो जनवरी २६ अर्थात ७१ औं भन्सार दिवसको अवसरमा सुनसरी लगायत अन्य भन्सार कार्यालयहरुमा एजेन्ट मार्फत जाँचपासको ब्यवस्थागर्न पहल गरिने बिषयमा सकारात्मक आश्वासन प्राप्त भएको महासंघले जनाएको छ । यसैबीच महासंघले नयाँ शाखा बिस्तारगर्दै सुनसरी भन्सार एजेन्ट संघ गठन गरेको छ ।
पप्पुु गुप्ताको अध्यक्षतामा ७ सदस्यिय सुनसरी भन्सार एजेन्ट संघ गठन गरिएको हो । नवगठित संघको उपाध्यक्ष सिताराम सापकोटा,सचिव मम्ताज राईन, कोषाध्यक्ष सुनिल कुमार लाभ तथा सदस्यमा सन्तोषानन्द चौधरी, दिपक चौधरी र पृथ्वी राज साह रहेका छन ।
संघले सुनसरी भन्सारमा कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको जनाईएको छ ।