राजविराज । धार्मिक सहिष्णुता र मैथिली भाषा प्रर्बधनको उद्धेश्यसहित मधेश प्रदेशबाट भारतको देवघरसम्मको धार्मिक साईकल यात्रा शुरु भएको छ ।
सप्तरीको राजविराजदेखी भारतको प्रसिद्ध तीर्थस्थल देवघरसम्मको ३५० किलोमिटरको सो यात्रामा २७ जना साईकलयात्री सहभागि भएका छन । मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रर्बधनको क्षेत्रमा कामगर्दै आएको मिलाफ नामक संस्था र छिन्नमस्ता गाउँपालिकाका मैथिल अभियानीहरुको संयुक्त सहकार्यमा मिथिला देवघर साईकल यात्रा आयोजना गरिएको हो ।
मैथिली भाषासाहित्य,कलासंस्कृतिको प्रचारप्रसार र भाषा सम्बन्धि जनजागरणको उद्धेश्यसहित साईकल यात्रा आयोजना गरिएको मिलाफका अध्यक्ष रमिला साहले बताउनुभयो । साईकलयात्राका सहभागिले छिन्नमस्ता गाउँपालिकाको वडानम्बर १ मा रहेको भोलाबाबा मन्दिर र राजविराजस्थित राजेश्वरी राजदेवी मन्दिरमा दर्शनपछि देवघरतर्फ प्रस्थान गरेका छन ।
साईकलयात्रीेले देवघरसम्मको ३५० किलोमिटरको यात्रा १० दिनमा पुरागर्ने लक्ष्य राखिएको मिलाफका सचिव विद्यानन्द बेदर्दीले बताउनुभयो । यात्राको क्रममा साईकल यात्रीको समुहले विभिन्न ठाउँमा बास बस्ने र बसेकै ठाउँहरुमा मैथिली भाषामा रचित मौलिक लोकगीतहरु प्रस्तुतगर्ने संयोजक सुभाष बिरपुरियाले जानकारी दिनुभयो ।
यस्तै यात्राका सहभागिले मैथिली भाषाको विविधता र लोक शैलीहरुका बिषयमा जनचेतना फैल्याउने काम समेत गर्ने उहाँले जानकारी दिनुभयो । साईकल यात्रीको विदाई कार्यक्रममा मिलाफका संस्थापक अध्यक्ष देवेन्द्र मिश्र, पत्रकारद्वय बाबुल मिश्र र दीनानाथ यादव, मैथिली साहित्य परिषदका पुर्वअध्यक्ष शुभचन्द्र झा, अन्तर्राष्ट्रिय मैथिली सम्मेलन नेपालका अध्यक्ष करूणा झा, मैथिल महिला परिषदका प्रतिमा देव र पिंकी झा, मिलाफका संस्थापक सदस्य शम्भू श्री, म्यूजिक मैथिलीका मैथिल म्याक्स लगायतले शुभकामना दिनुभयो ।
सो अवसरमा गायिका कंचना झाले भगवान शिवसंग सम्बन्धित पारम्परिक महेशवाणी गीत गाएपछि साईकलयात्रीलाई विदाई गरिएको थियो । यसअघि २०७६ सालमा पहिलोपटक मिथिला देवघर साईकल यात्रा शुरु गरिएको भएपनि त्यसयता २ बर्ष कोरोनाको कारण स्थगन गर्नुपरेको आयोजक संस्थाले जनाएको छ ।