विराटनगर । थारु कल्याणकारिणी सभाले प्रदेश एकको नाम ‘थरुहट प्रदेश’ नामाङ्कण गर्न माग गरेको छ ।

थारु कल्याणकारिणी सभाले प्रदेश एकका सभामुखलाई सो बिषयको ज्ञापनपत्र बुझाएको छ । सभाको मोरङ,सुनसरी,झापा र उदयपुर जिल्ला समितिहरुले आईतबार संंयुक्तरुपमा सो माग सहितको ज्ञापनपत्र सभामुखलाई बुझाएका हुन ।

प्रदेशसभाको कार्यालय पुगेका प्रतिनिधिहरुले प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारीलाई सो बिषयको ज्ञापन बुझाएका हुन । सभामुखको कार्यकक्षमा ज्ञापनपत्र वाचन गर्नुहुँदै थारु कल्याणकारिणी सभाका सुनसरी अध्यक्ष सुरेन्द्रकुमार चौधरीले नेपालमा अन्तरिम संविधान २०६३ जारी भएपछि समानुपातिक,सहभागितामुलक लोकतन्त्रको अभ्यासलाई देशले अंगिकार गरेको भएपनि थारु समुदायको मागहरुलाई वेवास्ता गरिएको गुनासो गर्नुभयो ।

थारु समुदायले आफ्ना मागमुद्धा सम्बोधन गर्नभनि विभिन्न कालमा आन्दोलन गरेको र सो बिषयमा सम्झौताहरु भएपनि त्यो पुरा नभएको सभामुखलाई बुझाईएको ज्ञापनपत्रमा उल्लेख छ । यस्तै नेपालको संविधान २०७२ जारी भएयता थारु समुदाय झन अपहेलित हुनुपरेको ज्ञापनपत्रमा लेखिएको छ ।

थारुहरु बिगतदेखीनै आफ्नो पहिचान सहितको कलष्टरमा बस्न थरुहट राज्यको मागगर्दै आएपनि थारुमाथि कुठाराघातगर्दै थारु बिरोधी बहुपहिचानलाई काटेर संघिय प्रदेश बनाईएको ज्ञापनपत्रमा उल्लेख छ । सभाले बिगतमा नेपाल सरकार र थारु संयुक्त संघर्ष समितिबिच भएको सम्झौतालाई आधार मानि १ नम्बर प्रदेशको नाम ‘थरुहट प्रदेश’ नामाङ्कण गर्नुपर्ने माग गरेको छ ।

थारु कल्याणकारिणी सभाका प्रतिनिधिहरुसंग ज्ञापनपत्र ग्रहण गर्नुहुँदै सभामुख भण्डारीले नामाङ्कणको बिषयमा हुने सर्वदलिय छलफलहरुमा सो बिषयमा सहजिकरण गरिदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा मोरङका सभापति प्रदिपकुमार भगत तथा मोरङ,सुनसरी र झापाका प्रतिनिधि सहित थारु समुदायका अगुवा र समाजसेवीहरुको सहभागिता थियो ।

सम्बन्धित खबरहरु