कटहरी । राजवंशी समाज विकास समितिको छैठौं केन्द्रीय महाधिवेशन मोरङको कटहरी गाउँपालिकामा शुरु भएको छ ।

महाधिवेशनको आज पहिलोदिन राजवंशी समुदायबाट निर्वाचित विभिन्न पालिकाका ५ जना प्रमुख र उपप्रमुखलाई सम्मान गरिएको छ । सो क्रममा सुनबर्षी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशी,गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवंशी र कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीलाई सम्मान गरिएको थियो ।

यस्तै कटहरी गाउँपालिकाकी उपाध्यक्ष सितादेवी राजवंशी,गौरादह नगरपालिका उपाध्यक्ष जलबर्षा राजवंशीलाई लाई समेत सम्मान गरिएको थियो । सम्मानित जनप्रतिनिधिलाई पुर्व मन्त्री एवम प्रदेश १ सभा सदस्य ज्ञानेश्वर राजवंशी,प्रदेश सभा सदस्य ज्ञानेश्वर चौधरी र आयोजक संस्थाका अध्यक्ष भिमराज राजवंशीले कदरपत्र र दोसल्ला सहित सम्मान गर्नुभयो ।

सो अवसरमा बोल्ने वक्ताहरुले राजवंशी भाषासंस्कृतिको संरक्षणमा राज्यले विशेष पहल गर्नुका साथै घरघरमा जागरुकता फैल्याउनुपर्ने आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी,थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी,ताजपुरिया कल्याणकारी समाजका अध्यक्ष पुर्णलाल ताजपुरिया लगायतले शुभकामना मनतब्य राख्नुभयो ।

झापा र मोरङका साथै काठमाण्डौमा समेतगरि राजवंशी समुदायको १ लाख २१ हजार बढी जनसंख्या रहेको कार्यक्रममा बताईएको थियो । सो अवसरमा कलाकारहरुले मौलिक राजवंशी गीतसंगितमा नृत्य समेत गरेका थिए ।

असार ३१ गते नयाँ कार्यसमिति चयनगर्दै छैठौं महाधिवेशन समापन हुने तालिका छ ।

सम्बन्धित खबरहरु