कटहरी । कटहरी गाउँपालिकामा रहेको जनप्रिय माध्यमिक विद्यालय परिसरमा ४ कोठे नयाँ भवनको निर्माण हुने भएको छ ।
विद्यालय प्राङणमा निर्माण हुने सो भवनको गाउँपालिकका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सिता राजवंशीले शिलान्यास गर्नुभयो । विद्यालय परिसरमा राष्ट्रपति शैक्षिक आयोजनाबाट प्राप्त ३६ लाख रकमबाट ४ कोठे भवन निर्माण गर्न लागिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश जैसानीले जानकारी दिनुभयो ।
४ कोठे सो भवनमा भूँई तल्लामा दूई कोठा तथा सिढी र पहिलो तल्लामा थप दूुई कोठा निर्माण गरिने छ । यहि अषाढ मसान्त भित्र निर्माण सम्पन्न गरिने ब्यवस्थापन समिति अध्यक्ष जैसानीले बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिले आफ्नै रेखदेखमा भवनको निर्माण कार्य शुरु गरेको उहाँले बताउनुभयो ।
यसअघि कक्षाकोठा अभावमा विद्यार्थीलाई पठनपाठनको समस्या रहँदै आएकोमा नयाँ भवनको निर्माणपछि केहि सहज हुने जनाइएको छ । सो अवसरमा बोल्नुहुँदै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिका भित्रका विद्यालय र शिक्षाको स्तरबृद्धिगर्न आफु लागिपरेको बताउनुभयो ।
कटहरीका कतिपय विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुको संख्यात्मक तालमेल नमिलेको र भौतिक संरचनाको अभाव लगायतका समस्या रहेकाले त्यस्ता समस्याहरुलाई आउँदा दिनहरुमा समाधान गर्दै जाने अध्यक्ष चौधरीको भनाई थियो ।