विराटनगर । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिमदिन प्रमुख राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले महानगरपालिकाको मेयर,उपमेयर,वडाध्यक्ष र वडासदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

विराटनगरको शनिहाट नजिकैको नेपाल रेडक्रस सोसाईटी भवनमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार कार्यालय समय सुरु भएसँगै मनोनयन दर्ता गराउन राजनीतिक दलका प्रतिनिधिसहित स्वतन्त्र उम्मेदवारी दिनेहरुको भीड लागेको थियो ।

तुल, ब्यानर र झण्डासहित पुगेका उम्मेदवार र तिनका समर्थकहरुले शनिहाट पूर्वको सो सडक क्षेत्र भरिभराउन देखिन्थ्यो । सो क्रममा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट मेयर पदका लागि नागेश कोईराला र उपमेयरका लागि जनता समाजबादी पार्टी नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभयो ।


यस्तै नेकपा एमालेका तर्फबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दर्ता गराउनुभयो । पूर्वमन्त्री लालबाबु पण्डित, नेकपा एमाले जिल्ला अध्यक्ष विनोद ढकालसहित पुगेको थापाको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको थियो ।


यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वमेयर प्रहलादप्रसाद साह र उपमेयरका लागि बबिता आचार्य लुइँटेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।


यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट मेयरमा मृत्यञ्जय मिश्रा र उपमेयरमा शहनाज खातुनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

विवेकशील साझा पार्टीबाट मेयरमा अमलेश कर्ण र उपमेयरमा श्रीजु पराजुलीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाबाट विराटनगर–१२ का ७१ वर्षिय टंकप्रसाद गौतमले महानगरको मेयरपदका लागि उम्मेद्वारी दिनुभएको छ ।  यस्तै जनता साजबादी पार्टी परित्याग गरी महिला नेतृ बसुन्धरा झाले उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यसअघि जसपा परित्याग गर्नुभएका उमेश यादव, जनमत पार्टीका अरुणकुमार मण्डल, नेपाली कांग्रेस वीपीका तर्फबाट रामचन्द्र गौतम र स्वतन्त्र उम्मेदवार सक्रिय गौतमले आइतबार नै मेयर पदमा उम्मेद्वारी दर्ता गराउनुभएको थियो ।

सम्बन्धित खबरहरु