विराटनगर २७ फागुन । इस्लामी संघ नेपाल प्रदेश १ ले आयोजना गरेको ‘राष्ट्रब्यापी महिला अधिकार अभियान’ समापन गरेको छ ।

विराटनगरमा विविध कार्यक्रमगर्दै संघले साताब्यापि कार्यक्रम समापन गरेको हो । प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा समाजका अग्रणि महिलाहरुलाई सम्मानगर्दै संघले फागुन २० गतेबाट शुरु गरेको अभियान समापन गरेको हो । कार्यक्रमकाबीच चिकित्साक्षेत्रमा महत्वपुर्ण योगदान दिने प्राडा विलकिस बानो,डाक्टर फरिदा खातुन समाजसेवी जनिसा खातुनलाई सम्मान गरिएको थियो । उहाँहरुलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएकोे इस्लामी संघ नेपालका प्रदेश अध्यक्ष सज्जाद अंसारीले बताउनुभयो ।

सो अवसरमा बोल्नुहुँदै मन्त्री कार्कीले नेपालको एकिकरणमा मुस्लिम समुदायको ठुलो योगदान रहेको चर्चा गर्नुभयो । उहाँले इस्लाममा महिलाहरुको अधिकार सुनिश्चित रहेको कुरा समुदायको वैवाहिक पद्धतिले पनि प्रमाणित गरिरहेको बताउनुभयो । विवाह सम्पन्नगर्न महिलाको स्विकृति अनिवार्य गरिएको कुरा महिला अधिकारसंग जोडिएको बिषय रहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा मौलाना ताहिर नकबी,जुल्फिकार अलि,जेनिसा सुमन,केशरजहाँ फलाही,इस्लामी संघका प्रदेश सचिव ताहिर मियाँ,जनिसा खातुन,महिला नेतृ मदिन खातुन लगायतले इस्लाममा सुनिश्चित रहेको महिला अधिकारका बिषयमा बोल्नुभयो । यसअघि अभियान अंतर्गतनै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संघको आयोजनामा फागुन २४ गते विराटनगरमा प्रभातफेरी समेत निकालिएको थियो ।

महिलापुरुष समानताको अधिकार बिषयमा सचेतना जगाउने उद्धेश्यले मुस्लिम महिलाहरुको सहभागितामा सो प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीका सहभागिले ‘शिक्षा छोराको मात्र होईन छोरीको पनि अधिकार हो’ र ‘महिला नरहे मानवको अन्त्य हुन्छ’ लगायत महिला समानताको अधिकार उल्लेख गरिएका प्लेकार्ड बोकेका थिए ।


राष्ट्रब्यापी महिला अधिकार अभियान अन्र्तगत संघले कोणसभा,मदर्साहरुमा सचेतनामुलक पर्चापम्पलेट वितरण र विचार गोष्ठी लगायतका कार्यक्रमहरु आयोजना गसरएको इस्लामी संघ नेपालका सदस्य मोहम्मद अफजल हुसैन गुल्जारले बताउनुभयो ।

फागुन २० बाट २६ गतेसम्म आयोजना गरिएको अभियान अन्र्तगत प्रदेश एकको मुस्लिम बाहुल्यता रहेको सुनसरी,मोरङ,उदयपुर र झापाका विभिन्न सामुदायिक,निजी विद्यालय तथा मदरसाहरुमा अभियान अंतर्गतका विभिन्न कार्यक्रम संचालन गरिएको आयोजक इस्लामी संघ नेपालले जनाएको छ ।

सम्बन्धित खबरहरु